डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफरिस
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ ।
नक्सालले प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरेको हो । केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित नियन्त्रणमा लिएको थियो ।
शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका डीएसपी केसीलाई सीआईबीको टोलीले आइतबार राति निवासबाटै नियन्त्रणमा लिएको थियो । उनको निवासबाट टोलीले ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कास्कीमा सरुवा भएका उनी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न उनले व्यापारीसँग नगद रकम लिएको भन्ने सुराकीकाआधारमा सीआईबीले छानबिन गरेको थियो ।
पटक-पटक विवादमा मुछिएका डीएसपी केसीले साउन १ गते तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिको विवादमा नगरपालिका परिसरमा वडाध्यक्षलाई लात्ताले हानेर पौडी पोखरीमा फालिदिएका थिए । स्थानीय तहका जनप्रतिनिधले कारबाहीको माग गर्दा पनि उनी शक्तिकै आडमा जोगिएका थिए ।
केसीले आफूलाई गृह मन्त्री बालकृष्ण खाँणको नजिकको भन्दै बुटवलका व्यवसायीसँग रकम असुली गर्दै आएका थिए । एक वर्ष अघि तिलोत्तमा नगरपालिका–२ जानकरी नगरमा रहेको अवैध कल सेन्टरसँग पनि १५ लाख रुपैयाँ माग गरेका थिए । त्यसको लेनदेनका कुरा नमिलेपछि छापा मारेर झण्डै १ सय ५० कर्मचारी पक्राउ गरेका थिए । त्यस्तै, बुटवलका अन्य केही व्यवसायी पनि केसीबाट पीडित भएको गुनासो गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस