कांग्रेस काभ्रेद्धारा दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि सिफारिस
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर -२ का सभापति खरेल क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै पनि जिम्मेवारी नलिएको, मातहतको सङ्गठनहरू वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरू समेतलाई बोलाइ एमाले उम्मेदवार बास्कोटालाई भोट हाल्न दबाब दिने र पैसा समेत बाँडेको आरोपसहित उजुरी परेको थियो ।
कांग्रेस काभ्रेले बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारण बारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर( २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो ।
केन्द्रीय सदस्यद्वय आचार्य र लामा तथा क्षेत्रीय सभापति खरेलले पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको, आफू निकटलाई सूर्य, घण्टी तथा हलो चिह्नमा मतदान गर्न लगाएको भन्दै जिल्ला कार्यसमितिमा उजुरी परेको थियो ।
निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर -२ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी असहयोग गरेको तथा केन्द्रीय सदस्य द्वय आचार्य र लामा निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको नेपाली कांंग्रेस काभ्रेले जनाएको छ ।
केन्द्रीय सदस्य आचार्यले निर्वाचन अभियानमा मत माग्न सहभागी नभएको र आफू प्रदेशभरको जिम्मेवारीमा रहेको भन्दै व्यस्त कार्यतालिका सुनाउँदै पार्टी र गठबन्धनको उम्मेदवारलाई मत नमागेको, निकट रहेका वडा सभापति र वडा अध्यक्षहरूको बैठक नै बोलाएर विपक्षी उम्मेदवार एमालेका गोकुल बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको आरोप सहित कांग्रेस काभ्रेको वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा समेत उजुरी परेको थियो ।
प्रतिकृया दिनुहोस