समानुपातिक सुचीको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र लफडा, खस आर्यकै बाहुल्यता रहने
काठमाडौं । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ । रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो ।
गठनको छोटो समय भएकाले देशभर संगठनको फैलावट पुगिनसकेको भए पनि उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत पाएको छ । यसबाट उसले थप १४ सिट प्राप्त गरेर संसदको चौथो शक्तिका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ । निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ । दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ ।
रास्वपाले प्राइमरी इलेक्सनमा मत कम आएका र बन्द सूचीमा क्रमअनुसार तल नाम रहेकालाई पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसुन्धारास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानुपातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ । जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन् । अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ । रास्वपाले खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ ।
तर, प्राइमरी इलेक्सनमा भोट कम ल्याएका तर चुनावमा नेतासँगै हिँड्ने र केही केन्द्रीय सदस्यलाई समानुपातिक सांसद बनाउन पार्टीले चलखेल गरेको आरोप लाग्दै आएको छ । ‘प्राइमरी इलेक्सन र बन्द सूचीमा बुझाइएका नामको क्रमअनुसार सांसद चयन हुनुपर्छ । प्राइमरी इलेक्सनमा कम भोट ल्याउनेहरूलाई पनि सांसद बनाउने हो भने जनतालाई प्राइमरी इलेक्सनको नाममा झुक्याउने काम किन गरियो ?’ ती उम्मेदवारले प्रश्न गरे ।
रास्वपाले समानुपातिकको बन्द सूचीमा राख्ने नामका लागि प्रारम्भिक छनोट गरेको छ । त्यसमा ल्याएको मतका आधारमा बन्द सूचीमा राख्नेहरुको क्रम तय गरिएको थियो ।
रास्वपाले निर्वाचन आयोगमा पठाएको बन्द सूचीमा पुरुषतर्फ खस आर्य डोलप्रसाद अर्याल, गणेश कार्की र दीपक बोहोरा अगाडि थिए । त्यस्तै महिलातर्फ डा।चन्दा कार्की, निशा डाँगी र चन्द ऐर चाँदनी अगाडि थिए ।
प्रत्यक्षमा खस आर्य समुदायबाट तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएका छन् । रास्वपाले ३३ प्रतिशत पुर्याउन क्लस्टरबाट ४ महिला पठाएर खस आर्यमा तीन जना पुरुष मात्रै पठाउन लागेको हो ।
पुरुषबाट अर्याल, कार्की र बोहोरा सांसद बन्ने छन् । रास्वपाबाट समानुपातिक सांसद तय गर्ने जिम्मेवारी पाएका केन्द्रीय सदस्य महेश्वर घिमिरेले पनि खस आर्य समुदायबाट पुरुष मात्रै पठाउने संकेत गरे । यसबाट समानुपातिक सूचीमा रहेका खस आर्य तर्फका महिला असन्तुष्ट बनेका छन् ।
आयोगमा त्यही क्रम अनुसार नै नाम पठाए पनि अन्तिममा १३ जना सांसद छान्दा भने त्यसलाई ख्याल नगरिएको कतिपयको गुनासो छ । जस्तै– मधेशी कलस्टरबाट समानुपातिकतर्फ मनिष झा सांसद बन्दैछन् । तर, चुनावमा पाएको मतमा मधेशी समुदायतर्फ नै लक्ष्मी तिवारी मनिष भन्दा अगाडि छिन् । आयोगमा पठाएको सूचीमा तिवारी ६ नम्बर छिन् भने झा ९ औं स्थानमा छन् ।
यसैगरी खसआर्य समुदायबाट डा. चन्दा कार्की र निशा डाँगी आयोगमा पठाएको सूचीमा गणेश कार्की र दीपक बोहोरा भन्दा अघि छन् । अरु धेरै उम्मेदवार पनि सूचीमा अघि भए पनि सांसद बन्ने सूचीमा नपर्ने देखिएको छ ।
घिमिरेले चुनाव गरेर क्रम संख्या तय गरेको र त्यही आधारमा सांसद पठाउने बुझाइ यसअघि बनेको बताए । तर, अब केन्द्रीय समितिबाट हुने निर्णय नै अन्तिम हुने उनको भनाइ छ । ‘हाम्रो दलले केन्द्रीय कमिटीबाट अनुमोदन गरेर लैजान्छ,’ घिमिरेले भने, ‘जे जस्तो निर्णय हुन्छ, त्यहीँ हुन्छ ।’
प्रतिकृया दिनुहोस