रातारात देउखुरी सारियो लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान
दाङ । स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढे पनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।
मंसीर १९ गते राति साढे १० बजेतिर तीन वटा ट्रकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सम्पूर्ण फर्निचर, कागजात देउखुरी ल्याइएको मुख्यमन्त्री कुलबहादुर केसीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले बताए । प्रदेश सभाले गरेको निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री केसीले कार्यालय सार्न निर्देशन दिएको प्रेस सल्लाहकार विश्वकर्माले बताए ।
ती सबै सामाग्रीहरु वटा ट्रकमा लोड गरी राति नै दाङ लगिएको छ । अब मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने तयारी रहेको छ । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने ।
सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए । नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित ४ सांसदहरू लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नया बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए । कर्मचारीहरुले समेत पूर्वाधार बिना राजधानी सार्दा समस्या हुने भन्दै नसार्न मागसहित ज्ञापनपत्र बुझाएका थिए ।
प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरुको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ । स्रोतका अनुसार मुख्यमन्त्री केसीले आफ्नो सचिवालय, मन्त्रीपरिषद्को कार्यालयसँगै अर्थ तथा सहकारी मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालय पनि एक साताभित्रै देउखुरीमै सार्ने गरी व्यवस्थापन गर्न पूर्वाधार विकास प्राधिकरणलाई निर्देशन दिएका छन् ।
प्रतिकृया दिनुहोस