निषेधाज्ञा तोड्दै धनगढीमा विद्यार्थीको प्रदर्शन जारी, प्रहरीद्धारा दर्जनौं सेल आश्रुग्यास प्रहार

Student protest dhangadhi

धनगढी । कैलालीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया किशोरी चेतना साउदको मृत्युपछि अवस्था तनावग्रस्त भएको छ ।स्थानीयले जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ ।

स्थिति नियन्त्रणबाहिर जाने भएपछि धनगढीमा प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरिसकेको छ । निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै विद्यार्थीहरुले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा स्थानीय र विद्यार्थीले चेतनाका लागि न्याय माग्दै प्रदर्शन गरिरहेका छन् ।

बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा किशोरी अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए। उनीहरुले बिहिबार घटनास्थलबाट शव उठाउन दिएका थिएनन् ।

स्थानीय प्रशासनले बिहीबार साँझ घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरेर शव उठाएको थियो । घटनास्थल आसपासको क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रशासनले निषेधाज्ञा लगाएको छ ।

भीड तितरवितर पार्न अश्रुग्यास समेत प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको जानकारी दिए । सो क्रममा ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको समेत उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...