थापाथलीबाट कुनै हालतमा पछि हट्ने मुडमा महानगर, महानगरलाई उपत्यका विकास प्राधिकरण साथ
उपत्यका विकास प्राधिकरण भन्छ, अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ । जति विरोध र प्रतिरोध भए पनि महानगर बस्ती हटाउनबाट पछि नहट्ने स्पष्ट गरेको छ । महानगरपालिका स्रोतका अनुसार अहिले महानगरले परिपक्व ढंगबाटै बस्ती खाली गर्ने रणनीति बुनिरहेको छ ।
अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति पनि महानगरको साथमा उभिएको छ । उसकै जोडबलमा महानगर बस्ती हटाउन अघि सरेको थियो ।
४ मंसिरको समयसीमा राखेर समितिले खाली गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । ६ मंसिरमा नै महानगरले बस्ती खाली गर्ने तयारी गरे पनि मतगणना र विजय र्यालीहरुमा सुरक्षाकर्मी व्यस्त हुने भन्दै १२ मंसिरका लागि सारिएको थियो ।
काठमाडौं महानगरका प्रमुख बालेन साह भने थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् । बालेनको सचिवालयले बागमती नदी किनारको प्रमुख सरोकारवाला महानगर भएकाले किनार व्यवस्थित गराउने उद्देश्यले काम सुरु भएको बताएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन भनेको छ । प्राधिकरणले आज सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।
निर्देशनको अवज्ञा गरेमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने चेतावनी दिएको छ । महानगरले हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकणले उल्लेख गरेको छ ।
महानगर पछि नहट्ने संकेत पाएपछि मंगलबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्वासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ पनि गरे । काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार मंगलबार बिहान ३ सय भन्दा धेरै सुकुम्वासी बस्तीका स्थानीय महानगर घेर्न गएका थिए ।
प्रतिकृया दिनुहोस