यी हेभी वेट उम्मेदवार नेता, जसले आफुले आफैंलाई भोट दिन पाउँदैनन्

Mat nadine neta

काठमाडौं । आइतबार प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा पाँच वर्षका लागि आफ्ना प्रतिनिधि छनौट गरिन्छ । तर, आसन्न निर्वाचनमा कतिपय उम्मेदवारले आफैँलाई मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन कानुनअनुसार मतदाता नामावलीमा नाम समावेश भएका क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था छ । मतदाता नामावली भएकै क्षेत्रमा मतदान गर्नुपर्ने हुँदा यी उम्मेदवारहरु आफैलाई भोट हाल्न नपाउने भएका हुन् ।

शीर्ष नेतादेखि स्वतन्त्रतर्फबाट उठेका र राम्रै चर्चा बटुलेका कतिपय उम्मेदवारलेसमेत आफ्नो लागि मत हाल्न नपाउने भएका हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछाने, स्वतन्त्र उम्मेदवार सागर ढकाल, लगायतका नेताहरुले आफैँलाई मत हाल्न पाउने छैनन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले उनीहरु आफैँलाई मत हाल्नबाट वञ्चित हुने भएका हुन् ।

झापा क्षेत्र नं ५ बाट चुनाव लडेका एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरमा रहेकाले ओलीले यस पटक आफैँ मत हाल्न नपाउने भएका हुन् । यसअघि चितवन क्षेत्र नं ३ बाट चुनाव लडेका र हाल गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । दाहालको मतदाता नामावली यसअघि निर्वाचित भएको चितवन जिल्ला क्षेत्र नं ३ को हो ।

जसपा अध्यक्ष एवं सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको पनि मतदाता नामावली सुनसरीको हुदाँ आफू उठेको निर्वाचन क्षेत्रबाट मत हाल्न पाउँदैनन् । लोसपा अध्यक्ष महन्थ ठाकुर पनि आफैँलाई भोट हाल्न नपाउने अर्का उम्मेदवार हुन् । महोत्तरी क्षेत्रनं ३ बाट उठेका ठाकुरको मतदाता नामावली सर्लाहीको छ । यस्तै आफैँलाई मतदान गर्न नपाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने पनि हुन् । मतदाता नामावली काठमाडौंमा भएको हुँदा लामिछानेले पनि आफैँलाई भोट खसाल्न नपाउने भएका हुन् ।

यस्तै पूर्व सभामुख एवं काठमाडों क्षेत्र नं २ की प्रतिनिधिसभा उम्मेदवार ओन्सरी घर्ती मगरले पनि आफैँलाई मत हाल्न पाउने छैनन् । घर्तीको मतदाता नामावली रोल्पामा छ । उता राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बाग्लुङ १ का उम्मेदवार चित्रबहादुर केसीको मतदाता नामावली रुपन्देहीमा हुँदा केसी पनि आफैँलाइ मत हाल्न पाउँदैनन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकला पनि आफैँलाई भोट हाल्न नपाउने अर्का उम्मेरवार हुन् । डडेल्धुराबाट उम्मेदवारी दिएका ढकालको मतदाता नामावली गुल्मी रहेको हुँदा ढकालले आफैँलाई भोट हाल्न नपाउने भएका हुन् । यस्तै बारा क्षेत्र नं ४ बाट उठेका एकीकृत समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठको पनि मतदाता नामावली तनहुँको हुँदा आफैँलाई मत हाल्न पाउँदैनन् ।

मोरङ क्षेत्र नम्बर ४ का माओवादी उम्मेदवार अमनलाल मोदीले पनि आफैलाई भोट दिन पाउँदैनन्। मतदाता नामावलीमा उनको नाम मोरङ क्षेत्र नम्वर ६ मा छ । काठमाडौँ क्षेत्र नम्बर ५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको मतदाता नामावालीमा नाम तनहुँ–२ मा भएको कारण पौडेल पनि सोही दिन तनहुँ पुग्न असम्भव छ ।

मकवानपुर२ बाट उठेका एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाको मतदाता नामावलीमा नाम मकवानपुर १ मा छ । मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेतृ डिना उपाध्यय महालक्ष्मीको भोट दिने अधिकार भने क्षेत्र नम्बर २ मा छ ।

वीरबहादुर बलायर कैलाली क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार छन् । बलायरको मताधिकार डोटी जिल्ला शिखर नगरपालिका वडा नम्बर ८ मा छ ।

झापा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अग्नि खरेलको मतदाता नामावलीमा नाम झापा–२ मा छ। झापा क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार कृष्ण सिटौलाको मतदाता नामावलीमा नाम क्षेत्र नम्बर १ मा छ । यस्तै झापा क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार यग पाठकको मताधिकार काठमाडौँ ८ मा छ।

काठमाडौँ क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार सर्वेन्द्र खनालको मतदाता नामावलीमा नाम काठमाडौँ ५ मा छ । कानून बनाउने तहका जनप्रतिनिधि छान्ने भएकाले फरक निर्वाचन क्षेत्र भए पनि खासै फरक नपर्ने उम्मेदवारहरु बताउँछन् ।

प्रदेश सभा सदस्यका केही उम्मेदवारको अवस्था पनि यस्तै छ । स्थानीय तह निर्वाचनमा भने मतदाता नामावली भएकै स्थानबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको हकमा भने जहाँबाट पनि उम्मेदवारी दिन पाउने लचकता छ । तर भोट खसाल्न भने आफ्नो नामावली भएकै क्षेत्रमै पुग्नुपर्ने हुन्छ । चुनावमा एक भोटको पनि धेरै महत्व हुने हुँदा उम्मेदवार आफूले आफैँलाई भोट दिन नपाउँदा थोरै मतान्तरले पराजित हुने अवस्था पनि आउन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...