प्रदेश १ का बन मन्त्री शेखरचन्द्र थापाको मृत्यु
विराटनगर । प्रदेश नं. १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मन्त्री थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको हो ।
५६ वर्षीय थापा केही दिनअघि डेंगीबाट संक्रमित थिए । उनको डेंगीको उपचारकै क्रममा मन्त्री थापाको बुधबार बिहान निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।
उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।
पथरी शनिश्चरे -८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
मोरङ क्षेत्र नम्बर ३९१० मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।
अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए । प्रत्यक्ष निर्वाचन लडेर चुनाव जित्ने उनको इच्छा थियो । सोही अनुसार यसपटक मोरङ ३ (क)बाट उम्मेदवारी दिएका थापाको इच्छा भने पूरा हुन सकेन ।
प्रतिकृया दिनुहोस