कुमारी आमा राजपुतबाट जन्मिएको बच्चाको डिएनए म्याच, चुनाव लगत्तै इजलासमा जाने
काठमाडौं । कुमारी आमाका रुपमा चिनिएकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको शिशु र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए मिलेको छ ।
महोत्तरी जलेश्वरकी राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै श्रेष्ठसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय संघर्ष गरेकी थिइन् ।
राजपुतले बच्चाको डीएनए परीक्षणको माग गर्दै अनसन बसेकी थिइन् । उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग ३ बुँदे सहमतिपछि राजपुतले १७ दिनमा अनशन तोडेकी थिइन् ।
उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार आरोपित श्रेष्ठ र राजपुतको कोखबाट जन्मेको बच्चाको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको छ ।
‘बच्चा र श्रेष्ठको डीएनए मिलेको रिपोर्ट शुक्रबार नै हामीलाई प्राप्त भएको छ,’ रजिष्ट्रार अधिकारीले भने, ‘म्याच गरेको रिपोर्टसहित अब यो मुद्दा फेरि इजलासमा पठाइनेछ ।’ उनका अनुसार कात्तिक २५ गते पेसी तोकिएको छ । त्यो दिन नै यो मामिला इजलासमा जान्छ । ‘तर, निर्वाचनमा धेरैजसो कर्मचारी खटिएकाले चुनावलगत्तै यो मुद्दामा सुनुवाइ हुनेछ ।’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले आरोपित श्रेष्ठ र निहारिकाको कोखबाट जन्मिएको बच्चाको डीएनए परीक्षण गर्दा ९९.९९९ प्रतिशत डीएनएन मिलेको रिपोर्ट दिएको बताइएको छ । उच्च अदालत जनकपुरले निहारिकाकै मागअनुसार उनको कोखबाट जन्मेको शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको थियो ।
गत भदौ २४ गते दुवैको डीएनए परीक्षण भएको थियो । निहारिकाले जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् । श्रेष्ठले भने निहारिकाको आरोप निराधार रहेको भन्दै अदालतमा बयान दिएका थिए ।
जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि निहारिका उच्च अदालत पुगेकी थिइन् । उच्च अदालत पुग्न पनि उनले काठमाडौंमा गएर संघर्ष गर्नुपर्यो । काठमाडौंमा बालकसहित अनशनमा बसेपछि सरकारसँग भएको वार्तामा आरोपित श्रेष्ठको डीएनए परीक्षण गर्ने सहमति भएको थियो ।
आजै मात्र आफ्नो कुराको सनुवाई नभएको भन्दै पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको थियो । आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस