बैंकहरुको ब्याजदरविरुद्ध माइतीघरमा उद्योगी तथा ब्यापारीहरुको प्रदर्शन
काठमाडौं । माइतीघरमा मण्डलामा उद्योगी तथा ब्यापारीहरुले बैंकहरुको ब्याजदरविरुद्ध प्रदर्शन गरेका छन् ।
खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले संयूक्त रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शन गर्नेहरुले ‘मनपरी प्रिमियम बन्द गर्, बैंकिङ आतंक बन्द गर्, ब्याजदर चर्को भो गरिखान गाह्रो भो’ जस्ता पर्चा देखाएर शान्तिपूर्ण प्रदर्शन गरे । उद्योगी तथा व्यापारीहरुले पछिल्लो समय ब्याजदर चर्को भन्दै देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार बिहान ११ बज्नै लाग्दा काठमाडौं र यसका आसपासका जिल्लाका उद्योगी व्यवसायीहरु माइतीघर मण्डलाको सडक किनारामा जम्मा भएका थिए । उनीहरुको हातमा बैंक आतंक बन्द गर, मनपरी प्रिमियर बन्द गर, उच्च ब्याजदर खारेज गर, तरलता समस्या समाधान गर जस्ता बैंक तथा वित्तीय संस्था र नियमकीय राष्ट्र बैंक विरोधी प्ले कार्डहरु थिए । आक्रामक नारासहित भेला भएका व्यवसायीहरुको प्रदर्शनको नेतृत्व काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष दुर्गाराज श्रेष्ठले गरेका थिए ।
शान्तिपूर्ण प्रदर्शनमा ऐक्यबद्धता जनाउन नेपाल उद्योग वाणिज्य महासंघका अन्य दुई उपाध्यक्षहरु अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई पनि माइतीघर आइपुगेका थिए । दुवै उपाध्यक्ष शान्तिपूर्ण प्रर्दशनको पहिलो घेरामै बसेर नियमक र सरकारलाई खबरदारी गरे ।
बैंक तथा वित्तिय संस्थाका नीतिका कारण बैंकको सेवा शुल्क, ब्याज उद्योगी व्यवसायीले थेग्नै नसक्ने अवस्थामा पुगेपछि शान्तिपूर्ण खबरदारी भेला आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
बैंकहरुले उद्योग व्यवसाय गर्नका लागि पैसा दिन नसकेको र पुरानो ऋण रकममा पनि विभिन्न बहानाबाजी गरेर सेवा शुल्क लगायतका अतिरिक्त भार थपिदिएको उनको आरोप छ ।
‘बैंकहरुका कारण काम गरेर खान नसक्ने अवस्थामा हामी पुग्यौं,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘आफू मात्रै नाफा कमाउन बैंकहरुले कालोबजारी गरिरहेका छन् । सरकार र नियमकले केही गरेनन् ।’
प्रतिकृया दिनुहोस