गुजरातमा पुल भाँचिदा कम्तीमा १३७ जनाको मृत्यु, १०० जना घाइते
काठमाडौं । भारतको गुजरातमा पुल चुडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो । घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । मोर्बी सहरस्थित माचु नदीमा भएको यस्तो घटनामा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् ।
झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । जहाँ सयौं मानिसहरू फसिरहेको देखिन्छ । बीबीसीका अनुसार उक्त पुलमा दुर्घटना हुने बेला करिब ४ सय मानिसहरू त्यहाँ थिए । स्थानीय अधिकारीहरूले भने दुर्घटनामा परेकाहरूको उद्धार प्रयास गरेको बताएका छन् ।
भारतीय मिडियाका अनुसार उक्त पुल मर्मत गरी पुनस् सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो । गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुस्ख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।
स्थानीयहरूले सार्वजनिक गरेको भिडियोमा देखाइए अनुसार अँध्यारोका बीच नदीमा फसेका मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिएको छ । साथै उद्धारका लागि छिमेकी जिल्लाहरूबाट पनि उद्धारकर्मी तथा सुरक्षाकर्मीहरू पठाइएको छ ।
भारतीय सञ्चार माध्यम एनडीटीभीका अनुसार उक्त दुर्घटनापछि नदीमा १ सयभन्दा धेरै मानिस फसिरहेका छन् । साथै मृतकको संख्या बढ्नसक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् । यद्यपि मृतक र नदीमा फसेकाहरूको संख्याबारे विभिन्न मिडियाले फरक फरक तथ्यांक दिएका छन् ।
मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेका लागि ५० हजार रुपेयाँ राहत दिने घोषणा गरिएको छ । गुजरातका मुख्यमन्त्री भूपेंद्र पटेलले दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई ४ लाख रुपेयाँ तथा घाइतेका लागि ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस