पूर्व सांसद मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा १ः१० बजे निधन
चितवन । पूर्वसांसद मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको शनिबार विहानको राति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनको धर्मछोरा टंकनाथ पौडेलका अनुसार श्रेष्ठको शवलाई आज बिहान ९ः३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले नै स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि श्रेष्ठको शवलाई अन्त्येष्टिका लागि देवघाट लगिने छ ।
नारायणघाटमा २००३ सालमा बीपी कोइरालाबाट तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएकी श्रेष्ठ १३ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समिति सदस्य रहेको इतिहास छ । उनी १५ सालको आम निर्वाचनमा चुनाव उठ्न चाहेकी थिइन् । पार्टीले विश्वबन्धु थापालाई उठाएपछि स्वतन्त्र उम्मेद्वारी दिए पनि पछि बीपीको अनुरोधमा थापालाई नै समर्थन गरेकी थिइन् ।
मैयादेवीले आफ्नो सम्पत्ति समाजसेवामा लगाइन् । समाजसेवामा श्रेष्ठ दानको प्रतिमूर्तिका नामले परिचित छिन् । भरतपुरमा खुलेको मैयादेखि कन्या कलेजको १२ कट्ठा जमिन र भवन बनाउने सबै खर्च उनले नै बेहोरेकी हुन् । उनले नारायणगढको बालकुमारी कन्या स्कुललाई १० कट्ठा जग्गा दिएकी थिइन् । नेपाली कांग्रेस पार्टी र अनेकौं व्यक्तिहरुलाई समेत उनले भूमिदान गरेकी छन् । चितवन कांग्रेसले उनैले दिएको नारायणगढको जग्गामा जिल्ला पार्टी कार्यालय बनाएको छ ।
काठमाडौं रविभवनमा ८० लाखमा किनेको घर मैयादेवी श्रेष्ठले ५५ सालको पुस १९ मा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका लागि दान गरेकी थिइन् । कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयादेवीले नै दान गरेको जग्गामा छ ।
मैयादेवी धार्मिक स्वभावकी थिइन् । उनी देवघाट बस्ने, तीर्थ, धाम घुम्ने गर्दथिइन् । मैयादेवीले ७२ सालको भदौमा मैयादेवी ट्रष्ट बनाएर नारायणगढ मेनरोड पुतलीबजार चोकको आफ्नो तीन तले घर सोही ट्रष्टलाई हस्तान्तरण गरेकी थिइन् । त्यो घर बाहेक उनले सो ट्रष्टका लागि भनेर थप दुई करोड रुपैयाँ नगद पनि दान गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस