महिलाको समस्या समाधान गर्न गठबन्धन तयार : सीता गुरुङ
तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सीता गुरुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको चुनावमा महिलाका हकहित र अधिकारलाई संरक्षण र समस्यालाई प्रथामिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताएकी छन् ।
प्रतिनिधि सभाकी उम्मेरवारसमेत रहेकी गुरुङले शनिबार छथर गाउँपालिका वडा नं. ५ ओख्रेमा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा महिलाका मुद्धामा अन्य पार्टीहरु सकारात्मक नभएकाले सत्ता गठबन्धनले महिलाको मुद्धालाई उच्च प्राथमिकतामा राखेको बताइन् ।
उनले महिलाका धेरै समस्या हुने र ती समस्या समाधानको विकल्प खोजी महिलाको जीवनस्तर उकास्न आफु सधैं लागि पर्ने बताइन् । ‘विपक्षी दलले महिलाको पक्षमा सकारात्मक छैन भन्ने सबैले देखेकै हो । महिलालाई पटकपटक पाखा पारे पनि चुनावी बेला मात्र गुलिया कुरा गरेको पाइन्छ’, उनले भनिन्, ‘यस्तो सोचको अन्त्य गर्न नेपाली कांग्रेस र गठबन्धनले मलाई तपाईहरुसमक्ष उभ्याएको छ ।’
उनले विकास निमार्णका योजना जनताले मागेर होइन्, नेतृत्वमा बस्नेले आवश्यकतालाई हेरेर सबैको पहुँच पुग्नेगरी दिनसक्नुपर्ने बताइन् । समृद्ध तेह्रथुमको विकासका निम्ति काम गर्ने मौका दिनसमेत छथरवासीसँग अपिल गरिन् ।
त्यसैगरी प्रदेशसभा ‘क’ का उम्मेरवार सन्तोष लिम्बुले विकास निर्माण, स्वास्थ्य शिक्षा, खानेपानी, रोजगारी र कृषी क्षेत्रमा झारो टार्ने काम मात्र भएको र आफु चुनाव जित्न मात्र उम्मेदवार नभएको बताए । उनले विकासका सम्पूर्ण क्षेत्रमा नयाँ सोच र परिर्वतित ढङ्गले तेह्रथुमको विकास गर्ने बताए ।
सो सभामा नेपाली कांग्रेसका पूर्व सभापति रामनारायण ढुंगाना, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज कृष्ण चोम्वाङ, नेकपा माओवादी जिल्ला इन्चार्ज इन्द्र इम्सुङ लगायतका नेताले चुनावी अभियानमा बोलको थिए ।
प्रतिकृया दिनुहोस