तेस्रोपटक दोहोरिए राष्ट्रपति सी चिनफिङ, २०५ सदस्यीय केन्द्रीय कमिटी चयन
काठमाडौं । राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको नेतृत्वलाई अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन बेइजिङमा सम्पन्न भएको छ ।
सो २०औं महाधिवेशन सी जिनपिङलाई पुनः महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।
गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।
महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । करिब २०० सदस्यीय केन्द्रीय समिति २५ सदस्यीय पोलिट्ब्युरो मातहत हुन्छ । पोलिट्ब्युरोभन्दा माथि स्थायी समिति हुन्छ । केन्द्रीय समितिमा नपर्नुको अर्थ सो व्यक्तिले पार्टी वा सरकारमा महत्वपूर्ण पद पाउने छैन ।
महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।
प्रतिकृया दिनुहोस