बझाङ दुर्घटनाका सबै मृतकको पहिचान खुल्यो, १८ जना घाइतेको उपचार हुँदै
जात्राको रमाइलो नभुल्दै गाउँ शोकमग्न
बझाङ । बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ ।
बझाङको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज ११७ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । ती मध्यै सबैको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा मष्टा गाउँपालिका–२ का २८ वर्षीया बसन्ती धामी कठायत, उनकी ७ महिनाकी छोरी दीक्षिता, सोही वडाकी १३ वर्षीया सम्झना खड्का, १४ वर्षीय प्रचण्ड खड्का, १५ वर्षीय रोशन खड्का, शुक्लाफाँटा नगरपालिका–७ का ४० वर्षीय झरेन्द्र बोहरा र २ बस्ने ३८ वर्षीय वीरेन्द्र अधिकारी रहेका छन् । बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।
जीपमा सवार अन्य १८ जना घाइते भएका छन् । उनीहरु मध्ये गम्भीर अवस्थाका ३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्किदेवि भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह रहेका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।
सदरमुकाम चैनपुरमा लागेको मेला हेरेर फर्किनेहरु चढेको जीप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमता भन्दा धेरै यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
बझाङ सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो। मेलामा विभिन्न ठाउँबाट जात्रालु ओइरिएका थिए । दिनभरी मेलामा उनीहरुले इष्टमित्रहरुसँग खुसी साटासाट र एकआपसमा रमाइलो गरे । कतिले देउडा कम्मर मर्काए। तर यो खुसी धेरै बेर टिक्न सकेन ।
जात्राले ल्याएको रमाइलो पललाई दुर्घटनाले क्षणभरमै शोकाकुल बनाएको छ । दुर्घटनामा जात्राबाट घर फर्किरहेकाहरु कसैले ज्यान गुमाए त कोही अस्पतालको शैयामा जीवन मृत्युको दोसाँधमा छन् ।
प्रतिकृया दिनुहोस