हिरासतमा महिलालाई तल्लो अंगमा ठोस वस्तु प्रवेश गराएर प्रहरीद्धारा चरम यातना
सिरहा । सासु हत्याको आरोपमा अनुसन्धानका लागि हिरासतमा राखिएकी एक महिलालाई प्रहरीले चरम यातना दिएको पाइएको छ ।
मिर्चैया नगरपालिका–१ स्थित रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाइको गत असोज १५ गते भएको हत्या थियो । सो हत्याको अनुसन्धानको क्रममा उनकै बुहारी ३३ वर्षीया जिवछीदेवीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो । सो क्रममा प्रहरीले उनलाई चरम यातना दिएको हो ।
नियन्त्रणमा लिइएकी जिवछीलाई अनुसन्धानको क्रममा हिरासतभित्रै प्रहरीले करेण्ट लगाई पाइपले संवेदनशील अंगसहित शरीरका अन्य भागमा यत्रतत्र कुटपिट गरेको पाइएको छ । प्रहरीको चरम यातनाले घाइते भएकी जिवछीलाई मिर्चैया अस्पतालमा उपचार गरिएपछि यातना दिएको सार्वजनिक भएको थियो ।
उपचाररत जिवछीले हिरासतभित्र पुरुष प्रहरीले आफूलाई करेण्ट लगाउनुको साथै हात, पैताला, पाखुरा र शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको र महिला प्रहरीले तल्लो अंगमा ठोस वस्तु प्रवेश गराएर चरम यातना दिएको आफन्त, सञ्चारकर्मी र अधिकारकर्मीसमक्ष बताएकी छन् ।
यातनाकै क्रममा प्रहरीले आफ्नो ओठमा स्टिच पिनले च्यापेपछि जबर्जस्ती हत्यामा ससूरा मंगल साहको नाम टिपाएको यातनाका पीडित जिवछीले बताइन् । जिवछीलाई सोमबार हिरासतमुक्त गरिएको थियो । अस्पतालले घाइते जिवछीको शरीरका विभिन्न अंगमा निलडाम देखिएको जनाएको छ ।
यस्तो थियो घटना
गत असोज १४ गते खेततर्फ गएकी ६२ वर्षीया गुबदीदेवी त्यस दिन घर फर्किनन् । घर नफर्केपछि भोलिपल्ट बुहारी जिवछी र आमाजु दिदी ललिता खोज्न जाँदा आफ्नै खेत नजिकैको उखुबारीमा गुबदी मृत अवस्थामा भेटिइन् ।
आमाजु दिदी ललिताको प्रयागपुरमा घर भएकाले छोरीकहाँ बसिन् होला भन्ने सोचेर भोलिपल्ट बिहान ललितालाई फोन गर्दा आफ्नो घर नआएको बताएपछि ललिता र जिवछीले खोजी गरिन् । खोजीका क्रममा गुबदीको शव उखुबारीमा भेटियो । शव भेटिएपछि पोष्टमार्टम गरी परिवारजनले दाहसंस्कार गरे । १३ दिनको काजक्रिया सकिएपछि प्रहरीले शनिबार बुहारी जिवछीलाई नियन्त्रणमा लियो ।
प्रहरी हिरासभित्र जिवछीलाई चरम यातना दिइयो । यातना दिएको घटना सार्वजनिकि भएपछि स्थानीयवासीले यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै सोमबार बिहान मिर्चैयास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका थिए । प्रहरीले ६ राउन्ड अश्रुग्यास र दुई राउन्ड रबरको गोली प्रहार गरेका थियो ।
स्थानीयवासीको प्रदर्शन बढ्दै गएपछि सदरमुकामबाट तत्कालै सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमल्सिनाको टोलीले प्रदर्शनकारी र आफन्तसँग छलफलमा घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो ।
घटनाको छानबिन गर्न सोमबार साँझ नै जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ । छानबिन टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका एक/एक जना अधिकृत तथा नागरिक समाजबाट दुई जना पर्यवेक्षक रहेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । टोलीलाई पाँच दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।
प्रतिकृया दिनुहोस