‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन
काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो । पछिल्लो समय स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिँदै थियो ।
जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
अस्पताल स्रोतका अनुसार उपचाररत जोशीको स्वास्थ्य अवस्था शुक्रबार जटिल बनेको थियो । जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा पनि समस्या रहेको थियो । पछिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।
वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए । संस्कृतिविद् जोशी २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म पाउने एक मात्र व्यक्तित्व हुन् । उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
उनको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो । ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो ।
२०७१ सालमा त्रिमूर्ति निकेतनले उनलाई ‘शताब्दी पुरुष’ सम्मान दिएको थियो । तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए ।
२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो । उनी राष्ट्रिय समाचार समिति र चिनियाँ रेडियोमा समेत आबद्ध थिए ।
प्रतिकृया दिनुहोस