सुनकोशी-मरिन डाइभर्सन सुरुङ खन्न शुरु, निर्माण गर्न ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने
सिन्धुली । सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्न थालिएको छ । सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्न थालेको हो ।
शुक्रबार अन्तरजलाधर जल स्थानान्तरण गर्ने कामको सुरुआत सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट गरिएको हो । उर्जा मन्त्री पम्फा भुसालले सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण गरेकी थिइन् ।
सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार यो आधुनिक मेसिनको प्रविधिबाट ठेकेदार चाइना ओभरसिज कम्पनीले दुई वर्षभित्रमा सुरुङ निर्माणको काम सक्नेछ । मरिणबाट १३ दशमलव तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा सात सय मिटर तल पर्छ । टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहने गरी ६–६ डायमिटर खनिने छ ।
आयोजनाका अनुसार सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ मेघावाट विद्युत उत्पादन गरिने छ ।
सुनकोसीको पानीलाई मरिण खोलामा झारेपछि विद्युत उत्पादनसँगै तराईका जिल्ला रौतहट, बारा, धनुषा,महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने छ । सुनकोसीको पानी मरिणखोलाबाट ४० किलोमिटर तल वाग्मती नदीमा मिसाएर बाँध बाँधी नहरमार्फत वितरण गरिने छ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्नेमा यो वर्ष सरकारले दुई अर्ब ७० करोड बिनियोजन गरेको छ । सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ११ अर्ब रुपैयाँमा पाएको छ ।
ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै १३।३ किलोमिटरको सुरुङ खनिसक्ने गरी गरी तालिका बनाएको छ । सुनकोशी गाउँपालिका वडा नं. ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीमा डाइभर्सन संरचना निर्माण गरिने छ । सुनकोशी नदीको करीब ६७ क्यूमेक पानी सुरुङमार्फत मरिन खोलामा पुर्याइनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।
मरिनबाट बाग्मतीमा मिसिएको पानीलाई सिँचाइ आयोजनामार्फत मधेशमा सिँचाइ सुविधा पुर्याउने योजना छ । आयोजनामार्फत मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरुका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । यो परियोजनाबाट ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने लक्ष्य पनि छ ।
टीबीएममार्फत ५.५ डायमिटरको सुरुङ रहने गरी ६.६ डायमिटरको सुरुङ खनिनेछ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २० फागुन २०७७ शिलान्यास गरेको राष्ट्रिय गौरवको सुनकोशी-मरिन डाइभर्सन (नदी स्थानान्तरण) बहुउद्देश्यीय आयोजनामा अहिलेसम्म ८ प्रतिशतमा सकिएको छ ।
ठेक्का नलागी शिलान्यास गरिएको १०.०५ अर्ब लागतमा सुरुङ खन्न ठेक्का लागेको थियो । हेडवर्क्ससहित यो आयोजना सक्न ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
प्रतिकृया दिनुहोस