नारायणी र राप्ती नदीमा बाढीले सतर्कताको तह नाघ्यो, तटीय क्षेत्रमा उच्च जोखिम
काठमाडौं । अविरल वर्षाका कारण नारायणी र राप्ती नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ ।
अविरल वर्षाले लुम्बिनी प्रदेशका धेरै जिल्लाहरुमा अत्यधिक पानी परेको छ । चितवन, नवलपरासी पश्चिम, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, बर्दियामा भारी वर्षा भएको छ । दाङ र बर्दियामा पहिरोको जोखिम पनि बढाएको बाढी सूचना केन्द्रले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ः२० बजे दिएको जानकारी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको हो । नारायणी जलाधार क्षेत्रमा थप वर्षा भइरहेको र जल सतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको छ ।
यता राप्ती नदीमा बाढीले खतरा तह पार गरेको भन्दै बाँके जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।
अविरल वर्षाका कारण बाँकेस्थित पश्चिम राप्ती कुसुम जलमापन केन्द्रमा जल सतहले बुधबार साँझ साढे ५ बजे ६ः४५ मिटर खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको बाँके जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त नदीमा पानीको सतह ५.४० मिटर पुग्दा खतरा मानिन्छ ।
प्रतिकृया दिनुहोस