खुल्यो दसैंका लागि बसको टिकट बुकिङ, टिकट बुक गर्नेको संख्या अधिक
काठमाडौं । दसैंका लागि शनिबारदेखि बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभागलगायत सरोकारवालाहरूको संयुक्त बैठकले यसअघि नै गरेको निर्णयअनुसार असोज १ गतेदेखि बसको टिकट बुकिङ खुला गरेसँगै टिकट बुक गर्नेको भीड लागेको छ ।
यातायात व्यवस्था विभागका अनुसार दसैंका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो ।
बुकिङ खुला भएसँगै बसपार्क क्षेत्रमा टिकट लिनेहरुको भीड बढ्न थालेको हो। काठमाडौंबाट दसैँको समयमा लाखौं यात्रु उत्पत्यका बाहिर जाने गरेका छन् ।
नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिल लगायतका स्थानमा यात्रुहरू टिकट काट्नका लागि पुगेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार नयाँ बसपार्कमा अन्य ठाउँमा भन्दा यात्रुहरूको चाप लागेको छ ।
यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ । सडकको अवस्था खराब भएकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई आइतबार भेटेर यथाशिघ्र सडक मर्मत गर्न आग्रह गर्ने उनले जानकारी दिए ।
यसैबीच, यातायात व्यवस्था विभागले दसैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक ट्रेलर लगायतका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस