महानगरको अर्काे सफलता : जय नेपाल हलको कम्पाउन्डभित्र भेटियो टुकुचा खोला
भेटिएको टुकुचा हेर्न आउनेहरुलाई पन्छाउन नगर र ट्राफिक प्रहरीलाई हम्मेहम्मे
काठमाडौं । जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको कम्पाउन्ड भत्काउने क्रममा टुकुचा खोला फेला पारेको हो ।
महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट गहिरो खन्दा टुकुचा खोला भेटिएको जनाएको छ ।
यसपटक मेयर बालेन्द्र साह (बालेन) ले विगतको जसरी सूचना मात्रै जारी गर्ने तर, खोला नखोज्ने परम्परा तोडेका छन् । डोजर लिएर पुगेको महानगरको टोली बिहीबार दिउँसोदेखिनै जय नेपाल हलको उत्तरतर्फको परिसरमा खन्न तल्लीन रह्यो । सुरुमा जय नेपाल हलको परिसरमा करिब १५ फिट खोतल्दा महानगरले खोला ढाकिएको परम्परागत गुम्बज शैली नाला फेला पारेको थियो ।
हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला-ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो । विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।
नारायणहिटी दरबार क्षेत्रबाट करिब १२ मिटर चौडाइमा बगेको उक्त खोला सो क्षेत्रमा आइपुग्दा गायब भएको हुनाले उत्खनन गर्नुपरेको कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले बताए । विगत लामो समयदेखि नै नागरिकले खोला अतिक्रमण गरेर संरचना निर्माण भएको हुनाले जुनसुकै समयमा समस्या आउनसक्ने भन्दै कामपासँग उत्खननको माग गर्दै आइरहेका छन् ।
गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । महानगरले सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं टुकुचा खोलाको खोजीमा जुटेको थियो । महानगर टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजेर लिएर पुगेको थियो ।
३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।’
सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो । यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने अनुमान फेल खायो ।
विहीबार जय नेपाल हलको परिसरमुनि टुकुचा खोला भेटिंदा स्थानीय वासिन्दा नै अचम्मा परे । टुुकुचालाई गहिरो खाल्डोमा ईंटाको डोलो पाइप बनाएर बगाएको भेटिंदा हेर्नेका भीड लाग्यो । जब इँटाको गोलो पाइपभित्र बगिरहेको टुुकचा देखियो, भीडले परर तालीले स्वागत पनि गर्यो । भीड यति थियो कि भेटिएको टुकुचा हेर्न आउनेहरुलाई पन्छाउन नगर र ट्राफिक प्रहरीलाई मुश्किल पर्यो ।
टुकुचा काठमाडौं महानगरभिर्त्र उत्पत्ति भएर महानगरमै अन्त्य हुने ५ किलोमिटर लामो खोला हो । टुकुचामा माथिल्लो तटीय क्षेत्रमा ३ मिटरदेखि तलको क्षेत्रमा तल्लो तटीय क्षेत्रमा ८ मिटरसम्म फराकिलो बहाब क्षेत्र छ । तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् । अब तोकिएको सबै बहाब क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने मेयर बालेनको योजना छ ।
यो खोलाको पानी प्रशोधनका लागि बाग्मतीमा मिसिनुअघि कमालमोचन घाट क्षेत्रमा प्रशोधन गर्न अहिले करिब ३ अर्बको लागतमा फोहोर पानी प्रशोधन केन्द्र बनाइँदैछ । यो काम सकिएपछि टुकुचाले शहरकै बीचमा लुकेर बग्नुपर्ने अवस्था नआउने महानगरका अधिकारीहरु दाबी गर्छन् ।
मिचिएको जग्गामा बैंकदेखि सपिङ सेन्टर
बुढानीलकण्ठ हुँदै बगेर आएको टुकुचा खोला नारायणहिटी दरबार परिसर पूर्व–दक्षिण मोहडास्थित बाँसको झाङसम्म सतहमा देखिन्छ । त्यसपछि तल आउँदा गायब भएको खोला एकैपटक काठमाडौं प्लाजा पछाडितर्फको सतहमा बगेको देखिन्छ ।
प्राधिकरणका अनुसार बाँसको झाङदेखि प्लाजासम्म खोला बग्न इँटाको फराकिलो आर्क बनाइएको छ । खोला सोही आर्कभित्र निरन्तर बग्दै आएको छ । आर्कभन्दा माथिको भाग माटोले पुरेर भूमाफियाले निजी नाममा दर्ता गरेका छन् ।
डिल्लीबजारस्थित मालपोत कार्यालयका अनुसार उक्त जग्गामा अहिले लक्ष्मी बैंकको प्रधान कार्यालय छ । जय नेपाल हलको पार्किङ क्षेत्र पनि मिचिएको सोही जग्गामा पर्छ । सिद्धार्थ बैंकको कार्यालय रहेको भवन पनि मिचिएको सोही जग्गामा बनेको छ ।
एसबिएल डेभलपर्सले मिचिएको सोही जग्गामा पक्की भवन बनाई व्यापारिक प्रयोजनमा लगाएको छ । ओमकारशमशेर जबरा, महेन्द्रराज वैद्य तथा गौरी श्रेष्ठले पनि मिचिएको सोही जग्गा वर्षांैदेखि निर्बाध रूपमा भोगचलन गर्दै आएका छन् ।
डिल्लीबजारस्थित नापी कार्यालय काठमाडौंको रेकर्डमा खोला गायब भएको ठाउँ ०३३ मा नापी भएको छ । त्यसवेला तयार पारिएको नक्सामा प्राधिकरणले भनेझैँ टुकुचा खोला गायब नै छ । प्राधिकरणका अनुसार त्यस क्षेत्रमा ०२१ सालमा पनि नापी भएको थियो । सो नापीमा काठमाडौं प्लाजा–जय नेपाल हल क्षेत्रमा टुकुटा थियो ।
०२१ को नापी नक्सा नापी कार्यालयसँगै हुनुपर्ने प्राधिकरणको दाबी छ । तर, नापी कार्यालय ०३३ मा लिएको नापी नक्साबाहेक विवरण नभएको बताउँछ ।
प्रतिकृया दिनुहोस