प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९औं जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९औं जन्मजयन्ती मनाइँदैछ ।
नेपालमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् १९७१ भदौ २४ गते जन्म भएको थियो ।
जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्र शम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
भारत निर्वासनकै क्रममा राणा शासनको अन्त गर्न २००३ सालमा उनको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको थियो ।
त्यसपछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत पाएपछि उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।
क्यान्सर रोगले उनको २०३९ साउन ६ गते निधन भएको थियो । आज कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व
क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबुआमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।
वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।
बिपीले लेख्नुभएका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिए ।
प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो। बिपीको जीवनका महत्त्वपूर्ण चीजीबजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्त्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पुर्याएको छ ।
सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, काँग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ ।
बिपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम बिपी जयन्ती मनाउन लागेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस