असोज १ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने
१२ लाख यात्रुहरू उपत्यकाबाट बाहिरिन सक्ने अनुमान
काठमाडौं । यातायात व्यवसायीहरूले दसैंका लागि असोज १ गतेबाट लामो दूरीका लागि बसको टिकट बुकिङ खुला गर्ने भएका छन् ।
यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, सडक विभाग लगायत सरोकारवालाहरूको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस पटक दसैंतिहारको अवसरमा १० लाखदेखि १२ लाख यात्रुहरू उपत्यकाबाट बाहिरिन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यातायात व्यवस्था विभागमा बसेको बैठकको निर्णयबारे जानकारी दिएका हुन् । यससँगै नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौसाला, चावहिल लगायतका स्थानमा परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यातायात व्यवस्था विभागले यात्रुहरूलाई आग्रह गरेको छ ।
दसैंको बेलामा यात्रुहरू ठगिने भएकाले त्यसलाई मध्यनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमाा टिकट काट्ने स्टल राखिने छन् । दसैं तथा तिहार लगायत चाडबाडको समयमा काठमाडौं बाहिर जाने यात्रुहरूको संख्या धेरै हुने भएकाले सरकारले यात्रुलाई सजिलो होस् भनेर भदौ अन्तिमबाट सडक मर्मतको काम थाल्ने सडक विभागले जनाएको छ ।
यता, यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो ।
यातायात व्यवस्था विभागले सवारी साधनको भाडा नबढ्ने बताइसके पनि चाडपर्वको मौका छोपी सार्वजनिक यातायातका कर्मचारीहरूबाट हुनसक्ने सम्भावित बदमासीबाट बच्न भने स्वयं यात्रुहरू नै सचेत र सजग हुनुपर्ने महासंघले बताएको छ ।
सम्भावित ठगीलाई लिएर यात्रुहरुले तोकिएको टिकट काउन्टरबाट मात्रै टिकट काट्न र बिना टिकट यात्रा नगर्न समेत महासंघले यात्रुहरूलाई अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस