पालो फनपार्कको, बुझ्न मानेन महानगरको पत्र : २४ घण्टामा राजस्व नतिरे ताला लगाइने
काठमाडौं । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले बुधबार प्रदर्शनी मार्गस्थित फनपार्कलाई २४ घण्टे पत्र लेखेको छ ।
सञ्चालन भएयता बुझाउनुपर्ने कुनै राजस्व नबुझाएको फनपार्कले राजस्व बुझाउन गरिएको ताकेतालाई बेवास्ता गरेपछि २४ घण्टे सूचना जारी गर्नुपरेको महानगरले जनाएको छ ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार पत्र बुझाउन कर्मचारीलाई पठाउँदा फनपार्क सञ्चालकले अस्वीकार गरे । महानगरपालिकाले कर नतिरे फनपार्क सिलबन्दी गर्ने पत्र काटेको छ ।
‘महानगरपालिकालाई तिर्न पर्ने व्यवसाय कर, बाहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौँदेखि व्यवसाय सञ्चालन गरेकोमा पटक पटक ताकेता गर्दा पनि कर प्राप्त नभएको,’ पत्रमा उल्लेख रहेको छ । महानगरले वडा कार्यालयमा २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सो को लाग्ने जरिवाना समेत दाखिला गर्न चेतावनी दिएको छ ।
‘आज पत्र बुझ्न मानेनन्, भोलि पत्र टाँस्छौँ । त्यसको २४ घण्टासम्म राजस्व बुझाउन नआए फनपार्क शिलबन्दी गछौँ,’ उनले भने, ‘महानगरले प्राप्त गर्नुपर्ने रकम सरकारी बाँकीसरह असुलउपर गरिने छ ।’
डा. अधिकारीकाअनुसार पार्कले व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर तिर्नुपर्छ । यीमध्ये कुनै पनि शीर्षकमा विवरण बुझाइएको छैन । बहालको सम्झौता प्राप्त गरेपछि बहाल कर निर्धारण हुन्छ । मनोरञ्जन करतर्फ पार्कमा कति व्यक्तिको प्रवेश भयो ? त्यसको विवरणका आधारमा तय हुन्छ ।
पार्कले व्यवसाय कर र बहाल कर वडा कार्यालयमा गएर बुझाउनुपर्छ भने विज्ञापन कर र मनोरञ्जन कर राजस्व विभाग ववरमहलमा गएर बुझाउनुपर्छ । पार्कले बहाल रकममा सम्झौताको वार्षिक १० प्रतिशत, मनोरञ्जन करतर्फ ५ प्रतिशत, व्यवसायतर्फ २० हजार रुपैयाँ र त्यसको जरिवाना बुझाउनुपर्छ । विज्ञापन करतर्फ बाह्य विज्ञापनतर्फ प्रति स्क्वायर फिट १ हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ ।
प्रतिकृया दिनुहोस