आजदेखि सोह्र श्राद्ध सुरु, तर्पण र दान गरेर दिवंगत पितृको सम्झना गरिँदै

Shraddhas news

काठमाडौं । आजदेखि सोह्रश्राद्ध शुरु भउको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

सोह्र श्राद्धमा पितृहरूको उद्दारका लागि घर वा तीर्थस्थलमा श्राद्ध कर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ ।
सोह्रश्राद्ध आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औँशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ । सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन, उनीहरूले औँशी तिथिमा श्राद्ध गर्ने मान्यता रहेको छ ।

सोह्र श्राद्धको अवधिभर घरमा तामसी भोजन, माछा–मासु वा कुनै मादक पदार्थको सेवन गर्न र मांगलिक तथा शुभकार्य गर्नसमेत बर्जित गरिएको छ । श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटेर एक छाक मात्र सात्विक भोजन गर्ने गरिन्छ । यस दिनलाई बोलीचालीमा ‘एक छाकी’ पनि भन्ने गरिन्छ ।

श्राद्धका दिन तथा सोह्र श्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन (माछा–मासु, मदिरा, लसुन, प्याज) आदिको सेवन र संसर्ग गर्नुहुँदैन । त्यस्तै, मसुरोको दाल, लौका, चिचिन्डो, बैगुन, कोदो, तीते फापरलगायतका खाद्यवस्तुहरुको प्रयोगसमेत बर्जित छ ।  हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगान गर्नु आदि पनि श्राद्धका दिनमा निषेध गरिएको छ ।

श्राद्धमा रातो रङको कुनै पनि वस्तुको प्रयोग निषेध गरिएको छ । तुलसी, भृङ्गराज, सयपत्री, अगस्त्यपुष्प आदि फूलहरू भने प्रयोग गर्न सकिन्छ । तर, केत्तकी, करबीर, बकुल, कुन्दक र रातो रङका अन्य फूलहरू भने प्रयोग गर्नुहुँदैन ।

दिनको तेस्रो पहरमा पितृ पक्षमा गरिने श्राद्ध गर्नुपर्छ । कृष्ण यजुर्वेदअन्तर्गतको तैत्तिरीय संहिताअनुसार दक्षिण दिशा पितृहरूको दिशाको रूपमा व्याख्या गरिएको छ । साथै, संहिताले पितृहरूको श्राद्ध गर्दा जनैलाई अपसव्य अर्थात् दाहिने काँधमा जनै भिरेर दक्षिण दिशातर्फ फर्केर गर्न निर्देशन गरेको छ ।

शास्त्रमा तथा पुराणहरूले श्राद्धमा गंगाजल, दूध, मह, तोरीको साग, कुश, तिल आदिको महत्त्वलाई विशेष रूपमा व्याख्या गरेको पाइन्छ । तुलसीको मञ्जरीबाट पितृगण प्रशन्न रहने बताइएको छ । यसै कारण पिण्डको भित्री भागमा तुलसीको मञ्जरी लुकाउने प्रचलन पनि रहेको छ । तुलसीको मञ्जरी उपयोग गरेमा पितृगण गरुडमा सवार भई सिधै विष्णुलोक पुग्छन् भन्ने विश्वास छ ।

कुर्म पुराणअनुसार सोह्र श्राद्धको औँशीको दिन पितृहरू वायुको रूपमा मत्र्यलोक आउने र त्यस दिनको साँझसम्म आफ्ना कुलका वंशजहरूले श्राद्ध गरे÷नगरेको हेर्ने गर्छन् । यदि श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमै फर्कने पुराण्मा उल्लेख छ ।

पद्म पुराणले श्राद्धलाई गुप्त रूपमा गर्नुपर्ने कर्मको रूपमा व्याख्या गरेको छ । श्राद्धको प्रसाद दिने वा खुवाउने नाममा मित्रता कायम गर्नाले पनि दोष लाग्नेछ भनिएको छ । श्राद्ध कर्मलाई आफ्नै घरमा गर्नु उत्तम मानिन्छ । यदि घरमा श्राद्ध तर्पणादि कार्य संभव नभए नजिकैको तीर्थस्थल वा मन्दिरमा गर्नु पनि उत्तिकै उपयुक्त र फलदायी नै मानिन्छ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार मानिस देवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । भक्तिपूर्ण श्राद्ध कर्म सकेपछि मात्र पितृऋणबाट मुक्ति पाइने विश्वास रहेको छ । पितृऋणबाट मुक्त हुन सकिएन भने हामीले गरेका पुण्यकर्महरूको कुनै अर्थ रहँदैन भनिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...