कविता : क्याफेटेरिया नजाउँ प्रिय
प्रेमको रंगले रगीन कपमा
प्रेमकै आकारको क्यापाचिनो
अनि ! प्रेमकै रंगको टेबल सेट
अनविज्ञ छु !
किन कफी खल्लो मान्यौ ?
साथैमा सुगर प्याक पनि
म भन्दैथेँ मिलाएर दिउँ ?
तिमी भन्थ्यौ गुलियो मन पर्दैन
त्यसपछि
मैले पनि चिनीमा स्वाद नै भेटिनँ !
कफी नि सेलाएछ, म जिल्लिएँ
वश, तिम्रो उदासिनतामा !
खै किन स्वादहीन लाग्यो कफी ?
म उत्तर खोजिरहेँ, म उत्तर खोजिरहेँ !
एक चुस्की कफी नै खल्लो मान्यौँ
बाँकी चुस्कीमा झन के स्वाद भेट्थ्यौ ?
म आफैँलाई बेस्वाद लाग्यो कफी
सुगर प्याक थपिरहँदा पनि !
घरी कफी कप हेर्थें, घरी तिमीलाई
भेट्थे तिमीमा ज्वारभाटा चलेको बेस्वादको
बाँकी चुस्की लिइरहुँ कि कफीको
त्यतिकै तिम्रो बेस्वादलाई साथ दिउँ,
घरी सोँच्थे, सुगर प्याक मिलाइदिउँ कि
फेरि,
चिनी गुलियो हुन्न कि भन्ने डर तिमिलाई !!
अल्मलिएँ, त्यसै अल्मलिएँ म,
त्यसै हेरिरहेँ अर्डर लिस्टमा,
हेरिरहेँ तिम्रो उदासीनतामा !!!
कफीको ठाउँमा लेमन टि,
मगाइदिउँ भन्ने हिम्मत नि भएन,
किनकी कफीको लागि,
क्याफेटेरिया गएका हामी
तिमीलाई खल्लो लागेको कफी
मलाइ नि स्वादहीन लाग्यो
रंगहीन लाग्यो
तर कफी प्रेमिल रंगको कपमा थियो !!
अब क्याफेटेरिया जाउँ भन्ने छैन
किन कि मलाई तिम्रो उदासीनता हेर्नु छैन
अब म तिमीलाई आफ्नै हातले बनाएको
कालो चिया पिलाउनेछु,
वश ! त्यतिबेला खल्लो मान्न पाउने छैनौ
वश ! त्यतिबेला उदासीन हुन पाउने छैनौ !!
प्रतिकृया दिनुहोस