नायिका जेनी कुँवरको पशुपति आर्यघाटमा अन्त्यष्टि
काठमाडौँ । नायिका जेनी कुँवरको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बिहीबार राती आफु बस्दै आएको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।
उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दागबत्ती दिए । अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो ।
उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल लगायत कार्यसमिति पदाधिकारी सबै, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, आइडल डिजाइनरका सुन्दर श्रेष्ठलगायत थुप्रै कलाकर्मी पुगेका थिए ।
उनको शवमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो ।बिहीबार राति थापागाउँस्थित सनराइज अपार्टमेन्टमा रहेको आफ्नै निवासमा झुण्डिएर उनले आत्महत्या गरेकी थिइन् । ढोकामा किला ठोकेर डोरीको पासो लागेको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।
शवसँगै उनले ‘डिप्रेशनको शिकार’ भएको नोट समेत राखेकी थिइन् । नोटमा उनले आफु ‘डिप्रेशनको शिकार’ भएको उल्लेख गर्दै मृत्युमा कसैलाई दोष नदिन र आफ्नै हिसाबले मृत्यु रोजेको भनेकी छन् । एक समय फिल्ममा राम्रै जमेकी उनले २०५७ सालमा कलाकार निर्देशक मोहन निरौलाको ‘अदृश्य श्रम’ नामक सिरियलबाट अभिनय सुरु गरेकी थिइन् । फिल्म भने पहिले ‘जिन्दगानी’ थियो ।
त्यसपछि मैदान, जीवनदाता, कानून, अभिमन्यु, मलाई माफ गरिदेऊ, हलचल, धूम, मिस्टर डन, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ लगायत करिब दर्जन फिल्म अभिनय गरेकी उनले ‘हलचल’ र ‘घायन’ नामक दुई फिल्म बनाएकी छन् । सिरियल र म्युजिक भिडियो समेत अभिनय गरेकी उनले केही म्युजिक भिडियो निर्देशन समेत गरेकी छन् । उनी गीत समेत गाउँथिन् ।
विगत केही वर्षयता भने धेरै समय पशुपति क्षेत्रमा बिताउन थालेकी उनी पछिल्लो समय अध्यात्ममा रमाउँदै आएकी थिइन् । उनको शव अन्त्येष्टी अगाडि आजै त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो । उनका दुई छोरी र श्रीमान रहेका छन् । छोरीहरू भने अहिले अमेरिकामा रहेका छन् ।
प्रतिकृया दिनुहोस