कीर्ते नागरिकता बनाउन सिफारिश गर्ने वडाध्यक्षसहित पाँच विरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । कीर्ते नागरिकता सिफारिश गरेको भन्दै जिल्ला अदालत बाग्लुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बाग्लुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जना विरुद्ध जिल्ला अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको बाग्लुङ प्रहरीले जनाएको छ ।
पक्राउ पुर्जी जारीपछि तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिन साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् । वडाध्यक्ष केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । फरक अभिभावक बनाएर कीर्ते नागरिकता लिएको आरोपमा बाग्लुङ नगरपालिका–६ बाट पंकज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।
प्रतिकृया दिनुहोस