धनकुटामा सुनीलबहादुर थापालाई लाग्यो झड्का, कुमार थापाले बनाए जम्बो जिल्ला कार्यसमिति
धनकुटा । पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा धनकुटामा राष्ट्रिय प्रजातन्त्र पार्टी शुन्य भयो भनी घोषणा गरेका थिए । तर, बिहीबार उनलाई झड्का दिनेगरी कार्यकर्ता भेला भएर जम्बो जिल्ला कार्यसमिति बनाएका छन् ।
आफ्ना पिता सव. सूर्यबहादुर थापालाई राप्रपाले उचित स्थान नदिएको, आफ्ना पिताको बाटोलाई आत्मसात नगरेको जस्ता आरोप लगाउँदै सुनीलबहादुर थापा साउन १३ गते नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसमा प्रवेश गर्ने बेला थापाले धनकुटामा राप्रपाको नामसमेत नरहेको घोषणा गरेका थिए । तर, जिल्लामा निक्कै प्रभावशाली नेताका रुपमा चिनिएका राप्रपाका जिल्ला अध्यक्षसमेत रहेका कुमारबहादुर थापाले बिहीबार राप्रपाको जम्बो जिल्ला कार्यसमिति बनाएका छन् ।
बिहीबार धनकुटाको माथिल्लो कोप्चेमा रहेका पुरानो पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरुले पार्टीलाई एकठिक्का बनाउने गरी कुमारबहादुर थापाको नेतृत्वमा जम्बो कार्यसमिति बनाएका हुन् । उनी राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका भतिजा हुन् ।
यसलाई राप्रपा र राप्रपा संयुक्तको एकतापछि धनकुटामा दुई पार्टीको जिल्ला समिति समायोजन पनि भनिएको छ । समायोजनपछि गठित जिल्ला समितिको उपाध्यक्षमा टिकाप्रसाद घिमिरे, लाक्पा टासी शेर्पा र खेमराज काफ्ले चयन भएका छन् भने सचिवमा दुर्गा पुरी, सह–सचिवमा चन्द्र मादेन, रमेश चापागाईं र कोषाध्यक्ष सुवास राई चयन भएका छन् ।
सो भेलाले धनकुटाको प्रदेश निर्वाचन क्षेत्र (क) मा धर्मध्वज राई र प्रदेश निर्वाचन क्षेत्र (ख) मा श्याम गुरुङ अध्यक्ष चयन भएका छन् । धनकुटा नगर कार्य समितिको अध्यक्षमा पृथ सिंह तामाङ गोम्देन रहेका छन् ।
समायोजनअघि अध्यक्ष रहेका मुमाराम राई प्रमुख सल्लाहकारमा चयन भएका छन् भने नेताहरू घामलाल राई र मदनबहादुर भट्टराई सल्लाहकार चुनिएका छन् । पार्टी एकता हुनुअघिका दुवै तर्फका जिल्ला कार्य समितिका सदस्यहरु समायोजनपछि पनि सदस्य रहेका छन् ।
शक्ति देखाउने होडबाजी
सूर्यबहादुर थापाको जिल्ला भए पनि कुनै पनि जनवर्गीय संगठन नबन्दा पनि थापाले चुनाव जित्दै आएका थिए भने सोही ताल दोहोरिँदै आएको थियो सुनीलबहादुर थापाले चुनाव जित्दा पनि ।
पूर्वप्रधानमन्त्री थापा पुत्र सुनीलबहादुर नेपाली कांग्रेसमा प्रवेश गरेपछि सीमित कार्यकर्ता तानातान हुन थालेको छ । संगठनभन्दा पनि शक्ति, पैसा र भोट खरिद बिक्रीले धनकुटामा चुनाव जित्दै आएको राप्रपामा खासै धेरै कार्यकर्ता छैनन् ।
सूर्यबहादुर थापालाई पटकपटक चुनाव जिताउन मुख्य भुमिका निर्वाह गरेका भतिजा कुमारबहादुर थापासँग सुनीलबहादुर थापाको सम्बन्ध राम्रो छैन । उनीहरुबीच सम्बन्ध बिग्रिएपछि दुबै जना फरकफरक विचारमा लागेका छन् ।
गत प्रतिनिधिसभाको निर्वाचनसम्म सँगै रहेका यी दुई थापाहरुबीच अहिले पानी बाराबारको अवस्थामा छन् । उनीहरु बीचको यो सम्बन्धका कारण औलामा गन्न सकिने कार्यकर्ताहरु अन्योलमा परेका छन् ।
जिल्लामा राम्रो प्रभाव पारेका र कार्यकर्ताको रोजाइमा रहेका कुमारबहादुर थापा क्षेत्र नं. १ र २ मा कार्यकर्ता भेटघाटपछि जिल्लामा पार्टी कार्यालय सञ्चालनमा ल्याएका छन् । उता, नेपाली कांग्रेसमा प्रवेश गरेका सुनीलबहादुर थापा पनि क्षेत्र नं. २ मा कार्यकर्ता भेटघाटपछि प्रदेश नं. १ को चौविसे क्षेत्रमा कार्यकर्ता भेटघाट अभियानमा छन् ।
राप्रपाका जिल्ला अध्यक्ष कुमारबहादुर थापाको पक्षमा केन्द्रिय सदस्य हरीप्रसाद घिमिरे, जिल्ला उपाध्यक्ष टिकाप्रसाद घिमिरे, क्षेत्रीय अध्यक्षहरु धर्मध्वाज राई, श्याम गुरुङका साथै लक्ष्मी थापा, रेवतराम भण्डारी, चन्द्र याख्या, शंकर थापा, दुर्गा पुरी, पवित्रा श्रेष्ठ छन् ।
त्यसैगरी टेकबहादुर सारु, रेगेन्द्र लिम्बु, नगेन्द्र राई, जर्गमान राई, चन्द्र गुरुङ, रमेश चापागाई, नगेन्द्र पौडेल, नगेन्द्र अधिकारी, गोपाल निरौला, थामबहादुर राई, गोपाल राई, लोकबहादुर विश्वकर्मा, प्रकाश लिम्बु, डिल्ली लिम्बु, चोलेन्द्र गिरी, रामप्रसाद वस्ती, भीम खतिवडा, गणेशबहादुर कार्की, उपेन्द्र कार्की, गणेश गिरीलगायत कुमारबहादुर थापाको पक्षमा खुलेर लागेका छन् ।
राप्रपामा रहँदा महामन्त्रीसमेत रहेका सुनीलबहादुर थापाको पक्षमा पदमबहादुर बस्नेत, मानबहादुर मिश्र, लक्ष्मी सुब्बा, माधव भट्टराई, चेतनाथ चापागाइँ, गोपालचन्द्र पौडेल, कृष्ण थापा लगायत छन् ।
जिल्लामा क्रियाशील नेता कार्यकर्ताको संख्या हेर्ने हो भने कुमारबहादुर थापा निक्कै बलियो देखिएका छन् । बिहीबार भएको जिल्ला समायोजनमा पनि त्यही देखियो । बिहीबारको कार्यक्रममा सीमित नेतालाई आमन्त्रण गरिएको भए पनि पार्टीलाई बलियो बनाउन दबाव दिन कार्यकर्ताको ओइरो नै लागेको थियो ।
पूर्वमन्त्री भइसकेको, सूर्यबहादुर थापाको छोरा र पैसा खर्च गर्न सक्ने हैसियत भएका कारण कार्यकर्ता जति सुनीलको पक्षमा जाने अनुमान गरिएको थियो । विगतमा पनि पैसा खर्च गरेर सूर्यबहादुर थापा र स्वयम् सुनीलबहादुर थापाले पनि चुनाव जितेका थिए । तर बिहीबार भने सुनीलबहादुर थापालाई नै झड्का लाग्नेगरी नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा सहभागी बनेका थिए ।
प्रतिकृया दिनुहोस