नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजे मात्रै बस्ने
काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे मात्रै बस्ने भएको छ ।
बैठक विहान ११ बजेका लागि बोलाइएको थियो । अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।
यसअघि पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगित हुँदै आएको थियो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब कुमार नेपालबीच बिहीबार पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि भन्दै छलफल भएको थियो ।
तीन नेताबीचको सो छलफलले कुनै समाधान दिन सकेको थिएन । यसअघिका बैठकहरुमा पनि, बैठकअघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक बस्दै आइरहेको छ ।
नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ । त्यसमा सहमत गराउन प्रचण्ड–ओली बीच भेट्ने वातावरण मिलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ओली र प्रचण्डबीच छलफल भइरहेको छ ।
बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए ।
प्रचण्ड–माधव नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो । यसैगरी बालुवाटारमा भेला भएका ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने निर्णय गरेका थिए । उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने र हरेक परिस्थितिको सामना गर्ने निष्कर्षसमेत निकालेका छन् ।
नेकपा स्थायी कमिटीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको कार्यशैली ठीक नभएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् । यससँगै नेकपामा विवाद चर्किएको छ । गत असार २६ गतेपछि एक सातासम्म बैठक स्थगित गरेर सहमतिको प्रयास गरिए पनि विवाद समाधान भएको छैन ।
प्रतिकृया दिनुहोस