टीकापुर घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग : सभामुख महरा
काठमाडौं । टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न प्रतिनिधिसभाले सरकारलाई ध्यानाकर्षण गराएको छ ।
सभामुख कृष्णबहादुर महराले बुधबारको बैठकमा टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए ।
राजपाको अवरुद्धपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा सभामुख महराले सरकारलाई यथासिघ्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
२०७२ साल भदौमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।
उक्त घटनाको छानबिन गर्न सरकारले सर्वोच्च अदालतको पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो ।
आयोगले एक वर्षअघि नै प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको छैन ।
प्रतिनिधिसभाको अघिल्लो बैठकमा पनि राष्ट्रिय जनता पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको थियो ।
उक्त बैठकमा सभामुख महराले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन सरकारले अध्ययन गरिरहेको र आवश्यक परे सार्वजनिक गर्ने जवाफ दिएका थिए ।
राजपाले बुधबारको बैठकमा पनि सोही विषयमा संसद अवरुद्ध र्गयो । राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारले आवश्यक परे सार्वजनिक गर्नेजस्तो स्वेच्छाचारी जवाफ देखिएको भन्दै विरोध जनाए ।
उनले उक्त प्रतिवेदन सावर्ज्निक नभएसम्म प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिए ।
सभामुखको रुलिङसँगै राजपाले गरेको संसद अवरोध हटेको छ ।
प्रतिकृया दिनुहोस