आहा रारा गोल्डकप : रवीन्द्र अधिकारीको स्मरणमा खेलाडीको बाँधे हातमा कालो पट्टी
काठमाडौं । पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने भएका छन्।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा बिहीबार भएको सेमिफाइनल खेलमा क्यामरुनको डफिन्स एफसीलाई १–० गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। खेलको १३औँ मिनेटमा दीपक गुरुङको पासलाई सदुपयोग गरी टेकबहादुर बुढाथोकीले निर्णायक गोल गरेका थिए।
गुरुङले ‘म्यान अफ दी म्याच’ घोषित भइ ट्रफीसहित रु पाँच हजार प्राप्त गरे। यसअघि थ्री स्टार सशस्त्र प्रहरीको एपिएफलाई पराजित गरी फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ।
मन्त्री अधिकारीको स्मरण
आजको खेल शुभारम्भ हुनुअघि बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको स्मरणमा रङ्गशालामा उपस्थित खेलाडी, दर्शक तथा अतिथिले एक मिनेट मौन धारणा गरेका थिए। यस्तै खेलाडीहरुले सम्मानका लागि हातमा कालो पट्टी बाँधेर खेलेका थिए। जारी प्रतियोगिताको फागुन ९ गते स्व अधिकारीले उद्घाटन गरेका थिए।
प्रतिकृया दिनुहोस