सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा लागेको छ: प्रधानमन्त्री ओली
काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन् ।
एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताए । भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउन लागेको समेत उनले बताए ।
सरकार २०७२ सालको भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणमा जुटेको उल्लेख गर्दै उनले कोही पनि भूकम्पपीडित नछुटुन् भनेर भूमिहीन, ऐलानी र प्रतिजग्गामा बसोबास गरिरहेका परिवारका लागि समेत सुरक्षित आवास पुनःनिर्माण गर्ने व्यवस्था गरेको बताए ।
“पैसा नभएर घर निर्माण गर्न नसकेकालाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउनका लागि सहुलियत कर्जासम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागूसमेत गरिसकिएको छ”, प्रधानमन्त्री ओलीले भनेका छन्, “ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप रु ५० हजार अनुदान दिने र भूकम्प प्रतिरोधी घर पुनःनिर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको छ ।”
सरकार पुनःनिर्माणको काम दिगो होस् भनेर स्थानीय तहलाई स्रोत साधन र कार्य जिम्मेवारीसमेत हस्तान्तरण गरिरहेको र पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्दा परम्परागत मौलिकता कायम गर्न विशेष ध्यान दिइएको प्रधानमन्त्रीले दिनुभएको सन्देशमा उल्लेख छ । उनले सुरक्षित, भूकम्प प्रतिरोधी र मौलिक शैलीका सम्पदाको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपत्यका र बाहिरका ६ परम्परागत बस्तीलाई मौलिक शैलीमा पुनःनिर्माण गर्न थप रु ५० हजार अनुदान दिने व्यवस्था मिलाइएको छ ।
काठमाडौँ उपत्यका र बाहिरका परम्परागत बस्तीका लागि गुरुयोजना तयार गरिएको, तीन तहको सरकार, स्थानीय समुदायको सहभागिता र स्वामित्वमा पुनःनिर्माणका काम भइरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिङ्गो मुलुकलाई सुरक्षित र भूकम्प प्रतिरोधी बनाउनका लागि प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस