मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार छ: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गरेका छन् । आज ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको बताउँदै समयमै यसले पूर्णता पाउने विश्वास व्यक्त गरे ।
उनले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गरेका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार रहेको स्पष्ट पारे । इटालियन ठेकेदार कम्पनी सिएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर गइरहेका बेला पनि प्रधानमन्त्री ओलीले आयोजनाको कामलाई पूर्णता दिन ढिलाई नहुने बताए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले हरेक दिन एक पाइला अघि बढ्ने गरी सरकारले विकास निर्माणको कामलाई अघि बढाएको दाबी पनि गरे । प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पुरानै अवस्थामा परिणत गर्ने प्रतिवद्धता पनि दोर्होयाए । उनले काठमाडौं उपत्यकामा स्वच्छ हावा, सफा र पिउन योग्य पानी बनाउने संकल्पप्रति सरकार प्रतिवद्ध रहेको पनि बताए ।
चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ । कुल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रशोधन केन्द्र ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्री ओलीले प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा खानेपानी मन्त्री विना मगरले आयोजनाको काम तोकिएको समयमै सम्पन्न गर्न सरकारले आवश्यक सबै खालको सहयोग निर्माण कम्पनीलाई उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
प्रतिकृया दिनुहोस