रुस: माइनस १७ डिग्री सेल्सियस तापक्रमका बीच भवनको भग्नावशेषबाट ११ महिने बालकको जीवितै उद्धार
काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ ।
सोमबार यहाँ भएको ग्यास विस्फोटका कारण एउटा भवन ध्वस्त भएको थियो । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थियो । तर मंगलबार एउटा सुखद खबर सार्वजनिक भएको छ । उद्धार दलले भवनको भग्नावशेषमा थिचिएकी एकजना ११ महिने बच्चालाई जीवितै उद्धार गरेको छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार बच्चा रोएकाके सुनेपछि उद्धार दलले बच्चालाई सबुशल बाहिर निकालेका हुन् । इवान नाम गरेका ११ महिने बालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि मस्को पठाइएको बीबीसीले जनाएको छ । उनलाई चिसोले समातेको छ । साथै टाउकोमा चोट लागेको छ भने, खुट्टा फ्रयाक्चर भएको छ ।
रुसी अधिकारीहरुका अनुसार इवानकी आमा सकुशल छिन् । उनले अस्पतालमा आफ्ना छोरालाई भेटेको पनि रुसी अधिकारीहरुले जनाएका छन् ।
भवनको भग्नावशेषबाट अहिलेसम्म आठ जनाको शव निकालिएको छ ।
अझै पनि ३६ जना बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । यो भवनमा १२० जना बस्ने गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरी जतिसक्दो चाँडो विस्फोटको कारण पत्ता लगाउन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
प्रतिकृया दिनुहोस