संघीयताबारे पुनर्विचार गर्ने दिन आयोः राप्रपा अध्यक्ष थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशबाट ऋण लिएर जबर्जस्ती चलाउन खोजिएको संघीयता दिगो नहुने बताएका छन् । पाँचथरको सदरमुकाम फिदिममा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरुको भेलामा अध्यक्ष थापाले संघीयताबारे पुनर्विचार गर्न आग्रह गरे ।
उनले विखण्डनकारी तत्वहरुको क्रियाशीलता र जबर्जस्ती धर्म परिवर्तनको लहर यही अनुपातमा बढेर जाने हो भने मुलुकमा अर्को युद्ध निम्तिने खतरा रहेकोले चेतावनी दिए ।
यसलाई रोक्न समयमै कदम चाल्न आवश्यक भैसकेको धारणा राख्दै अध्यक्ष थापाले राप्रपाले अघि सारेका एजेण्डा हिन्दु राष्ट्र, राजा सहितको प्रजातन्त्र तथा जनताको प्रत्यक्ष स्वशासनको आवश्यकता अझ बलीयो भएर गएको जिकीर गरे ।
थापाले विचार मिल्ने पार्टीहरुसँग एकताको पहल भैरहेको पनि प्रष्ट पारेका छन् । अध्यक्ष थापाले हिन्दुराष्ट्र र रासंस्था स्थापनाका बारेमा पुनर्विचार गर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।
राप्रपाका नेता एवं प्रतिनिधीसभाका सांसद राजेन्द्र लिङदेनले संघीयता कार्यान्वयनको सुरुमै देशमा विखण्डनको आवाज उठ्नु दुःखद भएको बताउँदै सचेतना अपनाएर पुनर्विचार गर्नुपर्ने समय आईसकेको बताए ।
प्रतिकृया दिनुहोस