डुबानको पीडा : सुस्तावासीले भत्काए गण्डक नहर
काठमाडौं । नारायणी नदीबाट नेपाली भूमी डुवानमा पारी भारतीय भूमी सिंचाईका लागि लगिएको गण्डक नहरले वर्षेनी ठुलो समस्या पार्ने गरेको छ । गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्काएका छन् ।
खेतमा जमेको पानीको निकास नभएपछि सुस्ता गाउँपालिका–२ लक्ष्मीपुरका किसानले नहरको डिल भत्काएका हुन् । रातको समयमा उनीहरूले डिल भत्काएर खेतमा जमेको पानी नहरमा पठाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
भारतीय पक्षले पानीको निकासका लागि साइफल मर्मत नगर्दा बर्सेनि नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ । अध्यक्ष पाण्डेका अनुसार अहिले करिब तीन सय बिघा जमिन डुबानमा परेको छ । धानखेती डुबानमा परेपछि किसानहरूले नहरको डिल फुटाएको सुस्ता–२ का अध्यक्ष कृष्णलाल मुखियाले बताए ।
नहरको डिल काटेर पानी निकासी गराएपछि डुबानमा परेको खेतबाट पानीको सतह घट्न थालेको छ । सुुस्ता गाउँपालिका अध्यक्ष पाण्डेले भारतीय पक्षका जिम्मेवार निकायलाई यसबारे जानकारी गराइसकेको र भारतीय पक्षका प्रतिनिधि आएपछि छलफल गरिने बताए ।
भारतीय नहरकै कारण पटक पटक डुबान हुने गरे पनि भारततर्फबाट कुनै चासो नदिएको स्थानीयको भनाइ छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानको विषयमा भारतीय पक्षसँग छलफल सुरु गरिएको बताए ।
प्रतिकृया दिनुहोस