देशभर बाढी पहिरोको कहरः दर्जनको मृत्यु, करोडौंको धनमाल क्षती

Badhi bus

काठमाडौ‌ । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।

तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ। प्रदेश ५ मा मात्र आठ जनाको ज्यान गएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दाङमा एक जनाको मृत्यु भएको छ।

प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

राजधानी काठमाडौंमा एक जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

राजधानी जोड्ने पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेको छ। कर्णाली राजमार्ग पनि बन्द भएको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू पूर्वको विराटनगर, इटहरी, जनकपुर क्षेत्र, वीरगञ्ज, बुटवल, नेपालगञ्जको जनजीवन भारी वर्षाका कारण प्रभावित भएका छन्।

गृह मन्त्रालयले भने सोमबार साँझ ११ जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पुष्टि गरेको छ।

बाँकेमा सबैभन्दा बढी जनको क्षति भएको छ। बाँके जिल्लामा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ। दुई दिनदेखि परेको अविरल वर्षाबाट आएको बाढीमा परी बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक(एक जनाको मृत्यु भएको हो।

बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङका अनुसार जेठी खोलाले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलाराम बुढा र ज्वालीपुर नालाले बगाएर बैजनाथ–५ का ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो। बिहान बाढीमा बगेर बेपत्ता भएका बुढाको शव दिउँसो मात्र भेटिएको थियो।

त्यसैगरी कोहलपुर नगरपालिका–४ गौवागाउँ निवासी ४ वर्षीय बालक रञ्जित पासीको घर नजिकैको खाल्डोमा परी र डुडुवा गाउँपालिका–२ निवासी ४ वर्षीया रिमाकुमारी यादवको पनि घरअगाडि जमेको पानीमा परेर मृत्यु भएको हो।

बाढीले नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोडस्थित सेतु विक चोक र घरवासी टोलक्षेत्र भने डुबानमा परेका छन्। नेपालगञ्जमा बाटो र नालाको काम जारी रहेकै बेला पानी निकास हुन नपाएर डुबान भएको हो।

घर भत्किँदा तीनको मृत्यु
उता, रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा पानीले गलेर पुरानो पर्खाल भत्किँदा १८ महिने शिशुसहित तीन जनाको मृत्यु भएको हो। भान्छाकोठामा आगो तापेर बसिरहेका सुत्केरीसहित तीनजना पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्कर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको १५ वर्षीया छोरी चित्रा विश्वकर्मा रहेका छन्।

माथिल्लो घरआँगनको गाह्रो भत्किएर विश्वकर्माको घर पुरिएको हो। सुत्केरीलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा मृत्यु भएको हो भने शिशुसहित दुईको घटनास्थलमै मृत्यु भएको थियो। अर्को कोठामा मृतकका पति राजकुमार विश्वकर्मा र सासू भने सुरक्षित छन्। उनीहरू अचेत अवस्थामा छन्। भत्किएको घरमुनिको अर्को घर पनि जोखिममा छ।

विद्यार्थीको मृत्यु, एक बेपत्ता
पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा रहेको फन्ठी नदीमा आएको बाढीले बगाउँदा एक जना स्कुले छात्राको मृत्यु भएको छ। अर्का एक जना विद्यार्थी बेपत्ता भएका छन्। दुई विद्यार्थीको भने सकुशल उद्धार गरिएको छ।

बाढीले बगाएर पर्सागढी नगरपालिका वडा नम्बर ४ का जादोलाल रामकी छोरी १५ वर्षीया छोरी प्रतीमाकुमारी रामको मृत्यु भएको हो। बाढीले बगाएको उनको शव बगरमा भेटिएको थियो। बाढीले बगाएका पर्सागढी ८ का १५ वर्षीय सुरेन्द्र महतोको अवस्था भने अज्ञात छ।

यस्तै बाढीले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र सोही उमेरका सुमन पासवानको भने स्थानीयले उद्धार गरे। विद्यालयबाट एकै साथ घर फर्किने क्रममा प्रतिमालाई बाढीले बगाएपछि उनलाई उद्धार गर्न भन्दै अरु तीन जना साथी नदीमा हाम फाल्दा उनीहरूलाई पनि बाढीले बगाएको थियो।

वीरगन्ज महानगरका आधा दर्जनभन्दा बढी टोलहरू डुबानमा परेका छन्। वीरगन्जको श्रीपुर, पानीट्यांकी, रानीघाट, नगवाको नयाँबस्ती, रामगढवा, तेजारथ टोललगायत क्षेत्रहरू डुबानमा परेका हुन्।

दाङको बबई गाँउपालिका वार्ड नम्बर ५ बस्ने सेतुराम वली खेतमा मृत फेला परेका छन्। उनको मृत्युको कारण भने खुलेको छैन। त्यस्तै, ट्वाङ खोलाले यात्रुवाहक बस बगाए पनि मानवीय क्षति भएको छैन।

कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार अविरल वर्षाका कारण कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको छ भने उनका श्रीमान् ६५ वर्षीय कडेवा राना घाइते भएका छन्। शनिबार रातिदेखि परेको अविरल वर्षाले रानाको कच्ची घर भत्किएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...