विजेश्वरी छात्रावासमा एनजिओको गिद्धे नजर : किन मौन छन् दलित अधिकारकर्मीहरु ?

Nndswo news final

काठमाडौं । अधिकारको हनन् हुन्छ भने आफ्नै वर्ग र समुदायबाट हुन्छ । यो कथा होइन, सत्य हो । नपत्याए नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ र समाज विकास छात्रावासको सम्बन्धलाई हेरे पुग्छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिएसडब्लुओ) दलितको नाममा खोजिएको गैरसरकारी संस्था हो । समाज विकास छात्रावास सरकारी पैसाबाट खोलिएको सेवामुलक छात्रावास हो । तर, यो छात्रावासमा एनएनडिएसडब्लुओको हालिमुहाली चलिरहेको छ ।

कुरा सामान्य हो । तर, त्यसको असर सिंगो दलित समुदायमाथि परेको छ । काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित विजेश्वरी डाडामा ३ रोपनी ७ आना जग्गा छ । त्यही जग्गामा बनेको छ छात्रावास । जसलाई विजेश्वरी छात्रावास भनेर चिनिन्छ ।

जुन जग्गा एनएनडिएसडब्लुओले आफ्नो भन्दै आएको छ । त्यसैको आधारमा एनएनडिएसडब्लुओले सो छात्राबासमा बझाङ जिल्लाको छविस पाथिभरा गाउँपालिका वडा नं. ६ का दिनेश विकलाई वार्डेन पनि नियुक्त गरेको छ । सोबारे शुक्रबार छात्रावासमा सुचना टाँस गरिएको छ ।

इतिहास मेटाउने प्रयास
तत्कालीन राजा महेन्द्रले २०२१ सालमा सहर्षनाथ कपालीलाई छात्रावासको जग्गा खरिद गर्न भन्दै २५ हजार रुपैयाँ दिएका थिए । तत्कालीन दलित अगुवाहरुको पहलमा तत्कालीन सरकारले पैसा दिएपछि दलित अगुवाहरुकै सहमतिमा काठमाडौं वडा नं. १५ स्थित विजेश्वरीमा ३ रोपनी ७ आना जग्गा खरिद गरिएको थियो । सो जग्गा त्यतिबेला हर्षनाथ कपालीकै नाममा किनिएको थियो ।

२०२८ मा किर्तिनिधी विष्टले सो भवन निर्माण गर्न पहिलोपटक बजेट दिएका थिए । र, उनैले सो छात्रावासको भवन पनि शिलन्यास गरेका थिए । २०३३ सालसम्म एक तले भवन बन्यो । जहाँ १६ कोठा विद्यार्थी बस्ने कोठा, १ सभाहल, १ वार्डेन कोठा र १ वटा खाना खाने कोठाको भवन बनेको थियो । सोही सालदेखि नै विजेश्वरी छात्रावासमा दलित विद्यार्थी बस्न थालेका थिए ।

तर, एउटा इतिहास बोकेको विजेश्वरी छात्राबास आज एउटा गैरसरकारी संस्थाले हालिमुहाली गरिरहेको छ । आफ्नो बनाइरहेको छ ।

विगतका उतारचढाव
स्थापना कालदेखि नै यो समाज कल्याण मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद्ले रेखदेख गर्दै आएको थियो । तर २०६३ सालदेखि सञ्चालक समितिविहीन बनेको छ । लामो समयसम्म सो छात्राबास एक जना वार्डेनको भरमा चलिरहेको छ ।

२०३३ सालमै समाज कल्याण मन्त्रालयले मनबहादुर विश्वकर्माको अध्यक्षतामा सञ्चालक समिति बनाएको थियो । त्यतिबेला हालका दलित नागरिक समाजका संयोजक मोतिलाल नेपालीलाई वार्डेन बनाइएको थियो । उनले दलितका नाममा सञ्चालित एक मात्र विजेश्वरी छात्राबासलाई जोगाउन निक्कै पहल गरेका थिए । २०२१ मा तत्कालीन राजाले सहर्षनाथ कपालीलाई पैसा दिएर यो छात्राबास बनाउन लगाएका थिए ।

२०४२ मा प्रतापराम लुहारलाई सो छात्राबास सञ्चालन समितिको अध्यक्ष बनाइयो । उनी खुंखार पञ्च थिए । तर, उनले पछि उसलाई समाज कल्याण परिषदमा दर्ता गर्दा भने गलत गरेका थिए । उनी त्यसबेला नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको अध्यक्ष थिए ।

त्यही बेला उनले सो छात्राबासको जग्गालाई संघको नाममा ल्याए । लुहारले नै त्यसबेला छात्राबासमा बस्ने विद्यार्थी वहुदलीय भए भनेर सबै विद्यार्थी छात्राबासबाट हटाएका थिए । त्यसपछि उनले केही समय आफैंले अनाथालय पनि चलाएका थिए । उनी शाहीकालीन समयमा मन्त्री पनि भए । लुहारको भदौं २३ गते शुक्रबार निधन भइसकेको छ ।

सो छात्राबासलाई एनजिओकरण गरिन लागेको कुरा २०४६ पछि मात्रै थाहा भएको थियो । अनि मात्रै त्यसलाई अदालतमा मुद्धा हालिएको थियो । तर, दुर्भाग्य लामो समयपछि अदालतले संघकै नाममा फेसला गरिदियो । त्यसपछि भने संघले अस्थायी लालपुर्जा पाएको थियो । त्यसैको आधारमा संघले सो छात्राबासलाई आफ्नो स्वमित्वको ठान्दै आएको छ ।

लामो समयसम्म सो छात्राबासको अवस्था दयनीय बनेपछि ०५१ मा शिक्षा मन्त्रालयले मोहनलाल कपालीको अध्यक्षतामा फेरि सञ्चालक समिित बनाउको थियो । ०५६ सालमा सो भवनलाई विस्तार गरियो । एक तला थपेर ३२ कोठाको बनाइयो । त्यतिबेला शिक्षा मन्त्रालयले २५ लाख रुपैयाँ दिएको थियो ।

मोहनलाल कपालीको मृत्युपछि ०६६ मा हालका वहराइनका लागि नेपाली राजदूत पदम सुन्दास कार्यबहाक अध्यक्ष भएका थिए । त्यो बेला वसन्त विश्वकर्मा वार्डेन थिए । उनी त्रिभुवन विश्वविद्यालयमा जागिरे थिए । त्यही भएर पछि सुन्दासले राम नेपालीलाई वार्डेन बनाएका थिए । लामो समयसम्म वार्डेनकै भरमा चलेको छ विजेश्वरीस्थित समाज विकास छात्रावास ।

तैँचुप मैचुप किन ?
यहाँ अधिकारको कुरा गर्नेहरु धेरै छन् । दलित अधिकारकै नाममा वर्षाैदेखि लाग्नेहरु पनि छन् । तर, एउटा सामाजिक संस्थाले सरकारी सम्पत्ति हडपेर नीजिकरण गर्दा पनि कसैले चुँसम्म बोल्न सकेका छैनन् । अखिर किन त ?

वर्षौदेखि दलित अधिकार खोज्नेहरुले सरकारी सम्पत्तिमा मोज गरिरहदाँ त्यो खोसेर गरिव र विपन्न दलितहरुको हितको लागि प्रयोग गर्ने आँट किन गर्दैनन् ? कि त्यसरी सरकारी जग्गा नीजिकरण गर्ने अधिकार छँदैछ, मौका परे आफु पनि त्यसै गरौला भनेर मौन बसेका छन् दलित अधिकारकर्मीहरु ?

शनिवार नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विकले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरे । उनले ‘सम्पूर्ण न्यायप्रेमी दलित आन्दोलनका साथीहरुमा अपिल’ भनेर पोष्ट गरे ।

उनले सो स्टाटस पोष्ट गरेपछि विभिन्न प्रतिक्रियाहरु फेसबुकमा आएका छन् । के अब फेसबुकको वालमा मात्रै विरोध जनाउने कि एउटा एनजिओले गरेको बद्मासीविरुद्ध लाग्ने ? दलित नागरिक समाजका संयोजक मोतिलाल नेपाली भन्छन्, ‘यो विषयमा घनिभुत रुपमा कुराकानी भइरहेको छ ।’

काठमाडौं विजयश्वरीस्थित दलित छात्रावास पछिल्लो समयमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नामक गैससले आफूले आफ्नो स्वामित्वमा भएको दाबी गर्दै स्वघोषित संचालक समिति बनाइरहेको छ । यसले नेपाल राष्ट्रिय दलित समाज कल्याण समाज विकास छात्राबास संचालन तथा व्यवस्थापन समितिको नाममा असार ७ मा वार्डेन पनि नियुक्त गरेको छ ।

जबकी यो छात्राबासलाई सहर्षनाथ कपाली छात्राबास नामाकरण गर्ने र स्तरोन्नती गर्ने गरी यसअघि विष्णु पौडयाल अर्थमन्त्री भएको बेला २ करोड रुपैयाँ बजेट छुट्याएका थिए । तर, सो संस्थाले नै कार्यान्वयनमा भाँजो हाल्दा २ करोड रुपैयाँ फ्रिज भएको थियो ।

अािखर किन त ? यो विषयमा निशान न्युजले नेपाल दलित दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द्र विश्वास विकसँग पटकपटक जिज्ञासा राख्ने प्रयास गरेको थियो । तर, उनको फोन उठेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...