मेनुका थापालाई प्रश्न : पुजालाई रुवाउने तपाईको संस्था बालगृह हो वा ट्रान्जिट होम ?

Tulasi vandari final

आदरणीय मेनुका थापाज्यू, नमस्कार ।

सायद यसको कारण र परिस्थिति तपाईलाई सम्झाइरहनु नपर्ला । तपाई एक समाजमा प्रतिष्ठित समाजसेवी भनेर हजारौंका भीडमा देखा पर्नु भएको छ । तपाइसँग आज शक्ति, सत्ता, सम्पत्ति, ईज्जत अनि लगनशीलता सबै छ । तर, तपाईले यिनै चिजहरुलाई दुरुपयोग गरिरहँदा के तपाइले आफ्नो केही संयमताहरु गुमाउनुभएको त होइन ? भन्ने प्रश्न उब्जिन थालेको छ । त्यही भएर आज अकस्मात म एउटा खुल्ला पत्र कोर्न बाध्य भएकी छु ।

जुन कुरा तपाईले देखाउनुभएको व्यवहारबाट नै प्रष्ट हुँदै गएका छन् । जसलाई तपाई अझैं पनि आफ्ना झुटका पर्दाहरुले छोप्न प्रयास गरिरहनुभएको छ । हाम्रो नेपाली समाज, जसले संघ–संस्थालाई भगवानको मन्दिर मानेर आँखा चिम्लिएर विश्वास गर्छ । रक्षा नेपाल हाम्रो लागि एक मन्दिर सरह हो, जहाँ जाँदा र बस्दा मनमा शान्ति मिल्छ ।

अकस्मात तपाईंकै आश्रयमा लामो समय बसेकी पुजा बोहोरा (नाम परिवर्तन) मिडियाको सामुन्ने आएर मुख खोलेपछि सबैले जिब्रो काट्न थाले । मेरो उद्देश्य तपाई र तपाईको संस्थाको बदनामी गर्ने होइन । तर, त्यहाँभित्र भएका नानी–बाबुहरुलाई जुन प्रकारको यातना दिइन्छ, त्यसलाई रोक्ने चाहिँ पक्कै हो ।

पुजाको कुरा सुन्दा त तपाईंको संस्थाभित्रै समस्या नै समस्या पो देखियो । पुजा कोही अबोध बालिका होइनन् । ब्याचलर दोस्रो वर्ष पढ्दै गरेकी कानुनकी एक परिपक्क छात्रा हुन् । ललिपप दिएर फक्किने बालिका होइनन् । यो कुरा तपाई पनि बुझ्नुहोस् । विना कारण अरुलाई दोष दिनुअघि केही त बुझ्ने कोशिस गर्नुस् ।

जसरी प्रदिप घिमिरे र उसका परिवारप्रति तपाईले जुन प्रकारको लाञ्छना लगाइरहनुभएको छ, त्यो विल्कुलै गलत छ । पुजा स्वयंले म विपतमा परेँ, मेरो रक्षा गरिदिनु प¥यो भनेर अत्तालिँदै फोन गरेको ति आवाजहरु आज पनि मेरो कानमा गुञ्जिदैछन् । कोही विपदमा परेको व्यक्तिलाई कसैले सहयोगी हात अगाडी बढाउँदछ भने त्यसलाई गलत भनिँदैन ।

तपाईले यसरी प्रदिप घिमिरेलाई अपराधी भनेर घोषणा गरिरहँदा साँच्चै तपाईमा कुनै भावना भन्ने चिज बाँकी छ वा छैन ? भन्ने प्रश्नचिन्ह खडा भएको छ । यदि प्रदिप घिमिरे गलत थिए र उनले नै पुजालाई जवर्जस्ती आफ्नो बसमा पार्न खोजेका थिए भने तपाईंसँग ८ वर्ष विताएकी पुजा किन तपाईमाथि नै आरोप लगाइरहेकी छन् ? के तपाईले उनलाई बसमा पार्न सक्नु भएन र ?

प्रदिप घिमिरे एक्लै बसेको केटा मान्छे होइन । उ श्रीमती, प्रत्युसा (छोरी), बहिनी (प्रिनन), भाई (नविन) सबै एकैसाथ बस्दै आएको व्यक्ति हो । यदि हाम्रो दैलोमा कसैले मलाई हजुरहरुको सहयोगको खाँचो छ, म अन्यायमा परेँ भनेर सहयोग माग्दै खट्खटाउँछ भने उसका लागि हाम्रो दैलो सँधै नै खुल्ला रहन्छ । यो त तपाई आफैले सिकाउनु भएको हो नि, सहयोग गर्नुपर्छ भनेर होइन र ? के अब प्रदिपले यहि काम गर्दा चाहिँ ऊ अपराधी भयो ?

‘मलाई रक्षा नेपालबाट निकालियो, अब म त्यहाँ बस्न सक्दिन’ भनेर हाम्रो ढोकामा आएकी पुजालाई मैले बस्न आश्रय दिँदा हाम्रो परिवार दोषी वा अपराधी हुन्छ भने प्रदिप घिमिरे मात्र हैन म, छोरी, भाई, बहिनी सबैलाई दोषी ठह¥याउन रक्षा नेपाललाई नै प्रयोग गर्नुहोस् । हुनत तपाईले सामूहिक बलात्कारदेखि श्रीमानको पिटाइ सहन नसकेका महिला दिदी–बहिनीहरुको उद्धार गर्नुभएको छ, यसमा कसैको दुई मत छैन ।

तर त्यही बलात्कारमा परेका ति पीडित नानी, बाबुहरुलाई कोही सहयोगी हातहरु त्यहाँ पुगे भने रुँदै कराउँदै उनीहरुका सामुन्ने दुई हात जोडेर सहयोग माग्न लगाउँदा उनीहरुमाथि मैले कुनै प्रकारको दवाब दिएको छैन कसरी भन्न सक्नुहुन्छ ? त्यो कुरा त तपाईकै संस्थामा आश्रित मुक्ताको टाउकोमा हात राखेर भन्न सक्नुहुन्छ ? विदेशीबाट पैसा लिएको छैन भनेर ?

तपाईले पुजालाई मानसिक सन्तुलन ठिक नभएको, जे पनि भन्छे भनेर आरोप लगाएको सुन्दा म मात्र होइन, पुजालाई भेट्ने जो कोही पनि अचम्ममा परिरहेका छन् । हो, उसमा पहिला मानसिक सन्तुलन ठिक थिएन होला । उनको पीडा तपाईले पनि बुझ्नु भएकै होला । तर, उनी अहिले आफैंमा सम्मालिएकी छिन् भने कसरी उनी सन्तुलनबिहीन भइन ? यसको प्रमाण विदेशमा गई तेक्वान्दो खेलेर जितेर ल्याएको गोल्ड मेडलदेखि उसका विद्यालयका सर्टिफिकेटहरु नै साक्षी छन् ।

तपाईले अन्तवार्ताका क्रममा पुजा बोहरा बेहोस हुन्थी पनि भन्नु भएछ । खै हामीसँग बसेको यतिका दिन भयो । तर, उनी एक पटक पनि बेहोस भएकी छैनन् ? के आधारमा तपाई विरामी भइरहने भनेर दाबी गर्नुहुन्छ ? कहिले कहिँ त हामी जो कोही पनि त विरामी पर्छौैं । कहिले कहिँ विरामी पर्दैमा मानसिक सन्तुलन गुमेको र वेहोसी भन्न मिल्छ ? आफ्नो जीवनमा सम्हालिएकी पुजा बैनीलाई तपाई फेरि पागल सावित गर्न खोजीरहनुभएको छ । त्यो भनेको बलात्कार गरेभन्दा ठूलो आरोप मात्र नभई पुजालाई दिइएको पीडा हो ।

संस्थामा रहेका भाई–बहिनीहरुको आफन्त भेट्न आउँदा तपाई एवम् तपाईका सहकर्मीहरुले गोदावारी सेल्टरमा राखिएको कुरा भन्नुहुन्थ्यो । खै गोदावारीम सेल्टर होम कहाँ छ ? नेपाल सरकारले छानविन समिति निर्माण गर्दागर्दै पनि तपाई कानुनभन्दा माथि उठेर कसैलाई अपराधी भन्ने अधिकार कहाँबाट पाउनुभयो ? हुन त तपाई पुजाको लागि लड्नुभयो । तर, खै त्यसको उपलब्धि ? पुजा निकालिनु नै हो त ?

तपाईको समाजसेवा प्रतिको लगनशीलतालाई हृदयमा राखेर नै कुनै कुरा बोल्न चाहिन । तपाई भन्नुहुन्छ कि घर किनेको ऋण तिर्न गाह्रो परिरहेको छ । कुन बैंकबाट कति लिएको हो ? लिँदाको मितिसहित कागजात किन बाहिर ल्याउन सक्नुभएन ? तपाईको संस्था बालगृह हो वा ट्रान्जिट होम ? के मा र कहाँ दर्ता छ ? प्रहरी र स्थानीय प्रशासनको सिफारिस बिना बालबालिका त्यहाँ राख्ने अधिकार तपाईलाई कसले दियो ? के तपाई कानुन भन्दामाथि हो ? के तपाईलाई यो मुलुकमा कानुन लाग्दैन ?

प्रदिप घिमिरेले बहिनीको न्यायको लागि लड्दा अपराधी हुने भए तपाईले गर्नुभएका यस्ता कामहरुमाथि चाहिँ प्रश्नचिन्ह खडा हुदैन र ? प्रदिप घिमिरे कोही नेता, पत्रकार, करोडपति नभएर एक साधारण व्यक्ति हो । जसले न्यायका लागि माग गरिरहेको छ । उसले कहिँ कतै पनि आफ्नो संस्था र संस्थागत धारणा प्रस्तुत गरेका छैनन् ।

यतिसम्मकी हाम्रो समाजले यस्ता घटनामा मुछिएकी एक अवोध युवतीलाई कहिल्यै पनि स्वीकार गर्दैन । अरुको बालबच्चासहितको श्रीमती स्वीकार गर्ने हाम्रो समाज बलात्कारमा परेर पीडित बनेकी युवतीलाई भने कहिल्यै स्वीकार्न सक्दैन् । अनि यहि घटना बाहिर ल्याउने इच्छा कसलाई पो हुन्छ र ? तर, अहिले यहि विषय पटक–पटक दोहिरिरहेका छन् । त्यसको पीडा तपाईले कहाँ बुझ्नु हुन्छ र ? पीडा भनेको त पर्नेलाई थाहा हुने कुरा हो ।

पुजालाई रक्षामा ल्याएर खत बसिसकेको घाउमा फेरि पनि घाउ बनाउने रहर कसलाई पो हुन्छ र ? ४ वर्ष अघिको प्रिनमको काण्डलाई फेरि पनि दोहो¥याएर प्रिनमलाई नै अझै पीडा दिन कसको पो मन हुन्थ्यो र ? यति सरल कुरा त तपाईले पनि बुझ्नुपर्ने हो नि । अहिले पुजाकै कारण प्रिनमले पनि बिर्सिसकेका ति पीडादायी पलहरु पुनः जीवन ठोक्किन आएका छन् । जुन रहर होइन, मेनुका जि बाध्यता हो । त्यो पनि तपाईंकै कारण ।

मैले यसरी तपाईमाथि प्रश्न गर्दै गर्दा तपाईंलाई पूर्ण रुपमा गलत भन्न खोजेको भने पक्कै होइन । तपाईले समाजलाई पु¥याउनुभएको योगदान अतुलनीय छ । तपाईको संस्थामा आश्रितहरुलाई नै थाहा होला तपाईंको सेवा र सहयोगका बारेमा । तर, तिनै आश्रितहरुको नाममा धन र इन्जत पाउनु भइसकेको तपाईं जस्तो समाजसेवी व्यक्तिले तिनै पीडितलाई झन पीडा दिएर अरुको विरोध गर्नु उचित हो र ?

उनीहरुकै नामबाट आफ्नो नाम अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनु भएकी तपाईले किन ति अवोधहरुलाई दुःख दिन थाल्नुभयो ? र, अरुलाई अप्ठेरोमा पार्न विभिन्न बाहनाबाजी गर्नुभयो ? मेरो प्रश्न यत्ति मात्रै हो । बाँकी कुरा ‘बुझ्नेलाई श्रीखण्ड, अबुझलाई खुर्पाको बिड’ भन्ने जस्तै हो ।

तपाईकै शुभचिन्तक
तुलसी भण्डारी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...