आशबहादुरको सातौं विदेश यात्रा : यसपटक घरबारी बेचेर मलेसिया जाँदै

Aash bahadur

इलाम । इराक र अफगानिस्तान रोजगारीका लागि असुरक्षित देश हुन् । त्यसैले सरकारले यी देशमा रोजगारीमा जान नपाउने गरी रोक्का गरेको छ । सरकारले रोक्का गरेको देश इराकमा जोखिम मोलेर पुगे इलाम नगरपालिका ९ का आशबहादुर चिमोरिया ।

ज्यान तलमाथि हुने खतरा त थियो नै, इराकमा सोचेजस्तो कमाई पनि भएन । कमाई भएको दुई चार लाख रुपैयाँ पैसा जाँदा लागेको ऋण तिर्न र भाइहरुको विवाहमा खर्च गर्दा ठिक्क भयो ।

२०६१ सालमा इराक पुगेका चिमोरियाले त्यहाँ पुग्न धेरै दुःख गरे । भारतको बाटो हुँदै जाँदा खाडीको उखुममा धेरै रात बिताउनुपर्‍यो । ‘दुवईको एअरपोर्टमा ३६ दिनसम्म झोला सिरानी राखेर सुतेका थियौं । दुःखले इराक पुगियो, काम पनि पाइयो तर पैसा कमाउन सकिएन,’ आशबहादुरले भने ।

इराकमा आशबहादुरको काम थियो, खाना पकाउने र सरसफाई गर्ने । हजारौं विदेशी सेनालाई भात पकाउने काम आशबहादुर जस्तै प्रवासी कामदारको जिम्मामा थियो, जो अवैधानिक रुपमा इराक भित्रिएका थिए ।

आशबहादुरको गन्तिमा एक सय ४४ प्रवासी कामदार इराकमा खटिएका सेनालाई भात पकाइदिने र सरसफाईमा खट्थे । तीमध्ये धेरै चाहिँ नेपाली कामदार थिए ।

एकातिर कमाई नहुनु, अर्कातिर आत्मघाती लडाकुसित डर मानेर आशबहादुरका १० महिना इराकमा बिते ।

इराक युद्धमा लडिरहेका सेनालाई भात पकाइदिने आशबहादुर भाग्यले सग्लो ज्यान लिएर नेपाल फर्किए । तर घरको ऋणले उनको ज्यान नेपालमा थामिएन । घरको जेठो छोरो आशबहादुरको जिम्मेवारी बढ्दै थियो ।

२०६३ सालमा सरकारले जान रोक्का गरेको अर्को देश अफगानिस्तान पुगे । इराकमा जस्तै ज्यानको असुरक्षा अफगानिस्तानमा पनि थियो । तर काम र कमाईका हिसावले इराकभन्दा अफगानिस्तान राम्रो थियो आशबहादुरका लागि ।

‘क्लिनर, प्लम्बर, काठ फ्याक्ट्री र सेक्युरेटी गार्डको काम काम गरेँ,’ अफगानिस्तानमा आफूले गरेका कामको फेहरिस्त आशबहादुरले सुनाए । इराकभन्दा अलि बढी कमाई त्यहाँ भयो । त्यो पैसा ऋण तिर्न ठिक्क भयो । उनी ३३ महिना अफगानिस्तान बसे ।

यो त भयो सरकारले रोक्का गरेको देशमा रोजगारी गर्न पुगेका कुरा । आशबहादुरको विदेश यात्रा जान्न इराक र अफगानिस्तान जानुभन्दा अगाडिको समयमा पुग्नुपर्छ ।

इराक र अफगानिस्तान जानुअघि उनी २०४५ सालमा भारत र ०५५ सालमा साउदी पुग्नुभयो । त्यसपछि सरकारले रोक्का गरेका देशमा पुगेका आशबहादुर २०७१ सालमा मलेसिया र ०७३ मा रोजगारीका लागि कतार गएका थिए ।

इराक र अफगानिस्तानले त उनलाई फापेन नै, अरु देशमा पनि पैसा कमाई भएन । तैपनि विदेश मोह भने सकिएको छैन । अर्कातिर बाध्यता पनि भयो विदेश यात्रा ।

१८ वर्षको उमेरमा पहिलो पटक रोजगारीका लागि विदेश पुगेका आशबहादुरको कपाल फूले । उनको थाप्लोमा अझै ५ लाख रुपैयाँ ऋण छ । त्यही ऋण विदेश गएर तिर्ने र छोराछोरीलाई राम्रो पढाउने उनको सोच छ ।


ऋण र छोराछोरीलाई पढाउन उहाँ घरबारी बेचेर सातौं पटक विदेश जाँदै छन् । उनले भर्खरै विदेश जान र ऋण तिर्न १५ लाख रुपैयाँमा घरबारी बेचेका छन् । मलेसिया जान प्रक्रिया पनि अगाडि बढाएका छन् ।

विदेश जाने धेरैजनाले ऋण खोजेर लागत खर्च तिरेको बताउँछन् । आशबहादुरले भने यो पटक विदेश जान घरबारी बेचे । उनका अनुसार ऋण खोज्दा पनि पत्याउने कोही भएनन् । ‘जागिर खाउँ कसैले पत्याउदैनन् । उद्योग व्यापार गरुँ, पूँजी छैन’ आशबहादुरले सुनाए ।

आशबहादुर र सुमित्राका दुई छोरा छन् । जेठो छोरो आशिष कक्षा ६ र कान्छो छोरो गणेश २ मा पढ्छन् । उनीहरु इलामको नेशनल एकेडेमी वोडिङ स्कुलमा पढ्छन् ।

उनीहरुलाई पढाउन आशबहादुर दम्पत्तिलाई खर्चको अभाव हुन थालेको छ । अर्कातिर साहुलाई ऋण तिर्ने पैसा छैन । त्यसैको पीरले घरबारी बेच्न मञ्जुर भएको सुमित्राले बताइन् ।

‘श्रीमानले भन्नुभयो, ऋण तिर्न र नानीहरुलाई पढाउनकै लागि भए पनि एकपटक विदेश जान्छु । यसपटक घरबारी बेचेर खर्च टारौंला । अर्को पटक कमाएर राम्रै घर बनाउला न ।’ श्रीमानले भनेका कुरा सुनाउँदै सुमित्राले भनिन्, ‘यसमा मैले पनि नाईं भन्न सकिन ।’ उज्यालो अनलाईनबाट 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...