अब सरकारी आरक्षण पाउन सरकारी स्कूलमै पढ्नुपर्ने

Arakshyan 810x479

काठमाडौं । सरकारले निजी विद्यालयमा पढ्नेहरुलाई निजामती सेवामा आरक्षण नदिने भएको छ ।

निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ ।

संघीय मामिला मन्त्रालयका सहसचिव सुरेश अधिकारीले विभिन्न सुझावका आधारमा समावेशी र आरक्षण कोटामा पुनर्विचार गर्ने गरी संघीय निजामती ऐनको मस्यौदा बनाउने गृहकार्य थालिएको जानकारी दिए । अब बन्ने मस्यौदाअनुसार अब एक व्यक्तिले अब एक पदका लागि मात्रै आरक्षण कोटाको सुविधा पाउनेछन्।

सरकारले विपन्न, गरिब तथा पछि परेका सबै पक्षको सार्थक सहभागिता वृद्धि गर्नका लागि ०६४ सालदेखि निजामती सेवामा निश्चित कोटासहित आरक्षणको व्यवस्था लागू गर्दै आएको थियो।

तर, समाजमा पछि परेका जातजातिका पनि धनाढ्य वर्गले मात्रै यो सुविधा पाएको भन्दै पछि परेका जातजाति र समुदायका पनि विपन्नहरूले नै आरक्षण सुविधा पाउने व्यवस्थासहित सरकारले समावेशी प्रणालीमा सुधार गर्ने नीति ल्याउन लागेको हो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको नेतृत्वमा गठित संघीय प्रशासनिक पुनःसंरचना सहजीकरण समितिको सुझावका आधारमा बोर्डिङ तथा निजी विद्यालयमा पढेकाहरूले समावेशी कोटामा प्रतिस्पर्धा गर्न नपाउने गरी नयाँ कानुनी व्यवस्थाको गृहकार्य थालिएको हो ।

समितिका अध्यक्ष दाहालले समावेशी र आरक्षण कोटाको १० वर्षको मूल्यांकन गर्दा आर्थिक अवस्था अत्यन्तै मजबुत भएका, बोर्डिङमा पढेका र एउटै परिवारका धनाढ्यहरूले मात्रै यस्तो सुविधा उपभोग गरेको पाइएकाले सरकारको लक्ष्य पूरा नभएको बताए ।

लोकसेवा आयोगका प्रवक्ता सहसचिव लक्ष्मीविलास कोइरालाले पनि समावेशीले आत्मसात् गरेको मर्मअनुसार लक्षित समुदायले आरक्षण कोटाको अवसर प्राप्त गर्न नपाएको बताए । दलित, जनजातिभित्रका विपन्नले यसको प्रतिफल पाउन नसकेकाले समावेशीको मोडालिटीमा परिवर्तन गर्न जरुरी रहेको लोकसेवा आयोगका प्रवक्ता कोइरालाको भनाइ छ ।

हाल सरकारले निजामतीमा कुल पदको ४५ प्रतिशत सिटमा आरक्षण कोटाबाट पदपूर्ति गर्दै आइरहेको छ। जसअनुसार समावेशीतर्फको ४५ प्रतिशतलाई शतप्रतिशत मानी महिला ३३ प्रतिशत, मधेसी २७ प्रतिशत, आदिवासी जनजाति २२ प्रतिशत, दलित ९ प्रतिशत, अपांग ५ र पिछडिएको क्षेत्र ४ प्रतिशतमा छुट्ट्याएर सोहीअनुसार पदपूर्ति गर्दै आइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...