बाँसको जरामा जीवन खोज्दै लक्ष्मी
काठमाडौं । ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँढ’ यो उखान लक्ष्मी राईको जीवनमा उपयोगी बनेको छ ।
लक्ष्मीले कु–काठ (जसलाई काम नलाग्ने काठ भनिन्छ) लाई कलामा परिणत गर्दै श्रीखण्ड’ बनाउने गरेकी छन् । जसले उनलाई अहिले जरा प्रेमी नै बनाइसकेको छ । जरा मै जिन्दगी पनि खोज्न थालेकी छन् ।
उनी यसरी जरा प्रेमी बन्नुमा बाँसको कमाल हो । बाँसले उनलाई मोहनी लगायो, जुन बाँसले जिउने कला पनि सिकाएको छ । बाँसको जरामा अल्झिएको छ उनको जीन्दगी । हिजोसम्म पुख्र्यौली पेशा थियो । अहिले त्यही पेशा अहिले जीवन जिउने आधार बनेको छ ।
धनकुटा जिल्लाको आँखिसल्लाबाट सुरु भएको बाँसको जरा यात्रा काठमाडौंसम्म जारी छ । उनी गाउँघरमा रहेका बाँसलाई आकार दिन्थिन् धनकुटामा रहँदा । र काठमाडौंमा आएर पनि बाँसकै जरालाई आकार दिने कामलाई निरन्तरता दिइरहेकी छन् ।
कुशल प्रशिक्षक
लक्ष्मी राईको पुख्र्यौली घर धनकुटाको तत्कालिन आँखिसल्ला गाविस वडा नं. ३ धनकुटा हो । अहिले काठमाडौं जिल्लाको कागेश्वरी मनहरा नगरपालिका ८ मा बसोबास गर्दै आएकी छन् ।
उनी काठमाडौंमा बसेर पनि जिल्लाबाटै बाँस मागेर बाँसबाट बन्ने विभिन्न प्रकारका सजावटका सामाग्री बनाउँछिन् । बजार पु¥याउँछिन् र जीवन गुजारा चलाउँछिन् ।
उनी कुशल प्रशिक्षक पनि हुन् । उनले हालसम्म ३ हजारभन्दा बढीलाई वेत बाँसका विभिन्न सामाग्री बनाउन सिकाएकी छन् । तीमध्ये कतिपयले व्यवसाय नै सञ्चालन गरेका छन् । कतिपय चाँही अन्य व्यक्तिले चलाएको उद्योगमा काम गरिरहेका छन् । ‘आफुले सिकाएका व्यक्तिहरुले रोजगारी पाएको सुन्दा खुसी लाग्छ’ उनले भनिन्, ‘मैले सिकाएकाहरुले राम्रो प्रगति गरेका छन्, उनीहरुको प्रगति सुन्दा खुसी लाग्छ ।’
उनले घरेलु विकास समति लगायतका विभिन्न संघ संस्थाको सहयोगमा जाजरकोट, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, सप्तरी, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, काठमाडौं लगायतका जिल्लामा पुगेर बाँसबाट बन्ने विभिन्न प्रकारका औजार बनाउन सिकाएकी छन् ।
उनी आफैं बाँस उद्योगकी सञ्चालिका हुन् । उनले धनकुटामा रहँदा शुभ लक्ष्मी बेतबाँस उद्योग चलाएकी थिइन् । अहिले कागेश्वरी मनहरा नगरपालिका ८ मा शुभ बेतवाँस उद्योग सञ्चालन गरिरहेकी छन् ।
उनी २०६८ मा भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा सहभागी बन्दा उत्कृष्ट भएकी थिइन् । त्योभन्दा अघि उनी ०६५ र ०६६ मा धनकुटा भएको औद्योगिक प्रदर्शनीमा प्रथम भएकी थिइन् । ०६६ मै इलाममा भएको प्रदर्शनीमा पनि उनी प्रथम भएकी थिइन् ।
सन्तान कै पेशा एउटै
उनको पारिवारिक पृष्टभुमी नै बासँको जराको वरीपरी घुमेको छ । बजारमा बाँसका अन्य सामाग्रीको माग हुनुभन्दा अघि उनका पिता पुर्खाले बाँसबाट बन्ने नाङ्लो, डोको, डालो, पेरुङ्गो आदी बनाउँथे । तर, त्यसलाई व्यवसायमा रुपान्तरण गर्न सकेका थिएनन् ।
पछिल्लो समयमा बजारले नयाँ शैलीका सामाग्री खोज्न थालेपछि उनीहरुको परिवार नै नयाँ नयाँ सामाग्री बनाउन बाध्य भएको थियो । अहिले उनको परिवार नै बाँसका सामाग्री बनाउने व्यवसाय सञ्चालन गर्छन् ।
पाँच दिदी बहिनीमध्ये उनी काइली हुन् । सबै दिदीबहिनी बाँसका सामाग्री बनाउँछन् । दिदी रजनी चित्रकार आफैंमा एक कुशल प्रशिक्षक र व्यवसायी हुन् । किसान राई, सरीता राई र मिना राई आफैंमा बाँसका राम्रा सामाग्री बनाउँछन् । मिनाले त धनकुटाको भेडेटारमा गाडी बनाउने वर्कसव नै खोलेकी छन् ।
३ दाजुभाईमध्ये मात्र माइलो सुक्रबहादुर राईले बाँसको काम गर्दैनन् । रामलाल राई र दिलकुमार राई पनि बाँसका सामाग्री बनाउँछन्, प्रशिक्षण दिन्छन् ।
केके बन्छ बाँसका सामाग्री ?
धेरैलाई थाहा छ कि बाँसबाट धेरै सामाग्री बन्छन् । गाउँघरमा त बाँस नै फलाम हो, जसबाट घरका सबै सामाग्री तयार हुन्छन् । तर, आजभोली बाँसका सामाग्री सजावटका लागि उत्तम विकल्प पनि बनेको छ ।
२०५३ सालदेखि व्यवसायीक रुपमा बाँसका विभिन्न सामाग्री बनाउन थालेकी लक्ष्मी आफैंले बाँसबाट मुढा, ¥याक, टि ट्रे, चम्चा काँटा राख्ने बक्स, झ्यालका सिन्के पर्दा, टि बक्स, टि पर्स, ल्याम्प सेट, बाल्टी फुल, बाँसका ढकी, थुन्चे, फलफुल ट्रे, कुर्सी, कार्ड होल्डर चार खण्डे, दुइ खण्डे पेपर बक्स, दुई खण्डे पेपर बक्स, व्याग, वास्केट आदी बनाउँछिन् ।
समस्या पनि छन्
लक्ष्मीले काठमाडौंमा बसेर बाँसका सामाग्री बनाउँदै गर्दा अनेकौं समस्या भोगेकी छन् । पहिलो कुरा त काठमाडौंमा बाँसको अभाव नै ठूलो छ । त्यसमा झन महंगीले बाँस छोई नसक्नु छ ।
काठमाडौंमा बाँस नपाउँदा उनले धनकुटाबाटै बाँस ल्याउने गर्छिन् । बाँस ल्याउन नसक्दा धनकुटामा बनाइएका सामाग्री ल्याएर काठमाडौंको बजारसम्म पु¥याउने गरेकी छन् । ‘बाँसका सामाग्री मागअनुसार पूरा गर्न कठिन भएको छ’ उनले भनिन्, ‘बाँस नपाउँदा पनि यो समस्या भएको हो, आफुले सधैं जिल्लाबाट ल्याउन पनि समस्या आइरहन्छ ।’
अर्काे कुरा भनेको दक्ष कामदारको अभाव हुनु हो । अहिले बजारमा बाँसका सामाग्री बनाउने मान्छे पाउन गाह्रो छ । त्यसका अलावा नेपाली बाँसका उत्पादित सामाग्रीभन्दा कम मुल्यमा भारत र चीनका सामाग्री नेपालमा च्याउँसरी पाइन्छन् । जसले गर्दा पनि नेपाली उत्पादनले मूल्य पाएको छैन ।
‘भारत र चीनबाट आएकासामाग्री हेर्दा चिल्ला र राम्रा देखिन्छन्’ उनले भनिन्, ‘नेपाली उत्पादन हेर्दा त्यस्ता देखिँदैनन्, तर प्रयोग गर्दा टिकाउँ हुन्छन् ।’ नेपाली सामाग्रीले बजार पाउन सरकारले नै विषेश सुविधा दिनुपर्ने उनको माग छ ।
प्रतिकृया दिनुहोस