सम्झनामा भीमनारायण श्रेष्ठ : जो गुमनाम सहिद बनेका छन्
०१७ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका भीमनाराणय श्रेष्ठले वीरगती प्राप्त गरेको ३९ वर्ष भइसक्यो । उनले शालिक पनि ठडिएको छ तर उनी अझै सहिदको सुचीमा पर्न सकेका छैनन् ।
प्रजातन्त्रका लागि जीवन आहुती दिएको योगदानलाई कदर गर्न धनकुटा बजारको सिरानमा उनको शालिक बनाइएको छ । जसलाई पहिले गणेशचोक भनिन्थ्यो, अहिले ‘शहिद भीमनारायण चोक’ भनिन्छ । त्यो शालिक जिल्ला विकास समिति धनकुटाले निर्माण गरिदिएको हो ।
प्रजातन्त्रका खातिर प्राण त्याग्ने श्रेष्ठको स्मृतिमा ०५५ देखि तत्कालीन वडाध्यक्ष राजेश्वबहादुर श्रेष्ठको पहलमा प्रत्येक वर्ष सहिद भीमनारायण श्रेष्ठ रनिङ गोल्ड कप फुटबल सञ्चालन प्रारम्भ गरिएको थियो । यसवर्ष अन्तराष्ट्रिय गोल्ड कपमा परिणत भइसकेको छ ।
यसबाहेक अन्य खासै उनको योगदानको कदर हुन सकेको छैन । सो बम काण्डमा मारिएका रामकृष्ण श्रेष्ठ त त्यसबेलादेखि नै गुमनाम छन् । उनको खोजी न राज्यले ग¥यो, न उनी आवद्ध नेपाली कांग्रेसले नै । उनी जन्मिएको धनकुटा हुलाक टोलको चार चौतारा चौकलाई सहिद रामकृष्ण चौक नामाकरण गरिने हल्ला चले पनि कार्यान्वय हुन सकेन ।
वि. सं. १९९४ असार २४ मा पिता सूर्यनारायण श्रेष्ठ र आमा लक्ष्मी कुमारीको कोखबाट जन्मिएका श्रेष्ठ ०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसको नगर कमिटी सदस्य भएर चुनाव प्रचार प्रसारमा लागेका थिए । ०३० साल चैत ३ मा विराटनगरको त्रिभुवन स्मारक अस्पताल (कोशी अञ्चल अस्पताल) को मूलद्वार अगाडि भएको वम विस्फोटनको मुख्य अभियुक्त बनाएर पञ्चायती कानूनअनुसार उनलाई मृत्युदण्ड दिएको थियो ।
तत्कालीन सर्वाेच्च अदालतका न्यायाधीशद्वय बासुदेव शर्मा र झपटसिंह रावलको इजालशले राजगद्दी ताकेको र श्री ५ माथि आक्रमण गर्न खोजेको फैसला गर्दै तत्कालीन पञ्चायती कानूनको राजकाज (अपराध र सजाय) ऐन ०१९ को दफा २ तथा राजगद्दी ऐन ०१५ दफा १६ अनुसार ०३३ फागुन ६ गते विहीबार मृत्युदण्डको फैसला सुनाएको थियो ।
सोही फैसलाका आधारमा उनलाई २०३५ माघ २६ गते राती कोशी नदीको किनारमा पु¥याएर प्रहरीले गोली हानी हत्या गरेको थियो । सोही दिन कमला नदीको किनारमा ओखलढुंगा काण्डका कमाण्डर यज्ञवहादुर थापाको पनि हत्या गरिएको थियो ।
तत्कालीन अञ्चलाधीश कार्यालयले षड्यन्त्र मूलक ढंगबाट बर्बर यातना दिँदै, स्वेच्छाचारी ढंगले साविती बयान गराइएको हुनाले उनको जीवनहरण गरियो । जीवनको अन्तिम समयसम्म पनि उनले आफु म निर्दाेष भएको बताउँदै आएका थिए ।
बमकाण्डको पृष्ठभूमि
आफ्ना कान्छा भाई वीरेन्द्रनारायणको विवाहका सामान किन्न भनेर उनी २०३० फागुण २२ मा भारतको फारवेशगञ्ज गएका थिए । त्यहाँ उनको कप्तान यज्ञबहादुर थापासँग भेट भयो । उनी फारवेशगञ्जमै निर्वासित जीवन बिताइरहेका थिए । फारवेशगञ्जमा कप्तान थापासँग भेट गरेर फर्कन लाग्दा थापाले विराटनगरमा रामकृष्ण श्रेष्ठलाई दिनका लागि एउटा कागजको डल्ला पठाएका थिए । धनकुटा हुलाक टोलका रामकृष्ण श्रेष्ठ विराटनगरमा बसेर नेवि संघमा सक्रिय थिए ।
रामकृष्णलाई पठाएको काजगको डल्लाभित्र ‘३६ नं. हेण्डग्रिनेड’ नामक बम थियो । त्यो उनले थाहा पाएका थिएनन् । २०३० चैत ३ मा तत्कालीन राजा वीरेन्द्र विराटनगर सवारी भएको मौका छोपेर बम विस्फोट गराइएको थियो । कसरी गराइएको थियो भन्नेबारे भने अझैं स्पष्ट भएको छैन ।
सो दिन राजा वीरेन्द्र सहिद मैदानबाट समिक्षालयतिर हुने कार्यक्रम तय गरिएकाले राजाको सवारी हेर्दै बम विस्फोट गराउने योजना थियो । तर रामकृष्णकी आमा विरामी भएपछि औषधि किन्न भनेर एक औषधि पसलमा गएका थिए । उनीहरू अगाडि बढ्दा बढ्दै त्रिभुवन स्मारक अस्पतालको मूलद्वार अगाडि नै बिहान ९ः४५ बजे बम विस्फोट भएको थियो । दुवै जना गम्भीर घाइते भएका थिए । तर रामकृष्ण श्रेष्ठको भने अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्युभयो ।
सर्बसाधारण नगेन्द्रप्रसाद पराजुलीको घटनास्थलमै मुत्यु भएको थियो । बम विस्फोट भएपछि प्रहरीले ३८ जनाभन्दा बढी व्यक्तिहरूको बयान लिएको थियो । प्रहरीले विस्फोटमा घाइते भएकाहरूसँग मात्रै बयान लिएको थियो । भीमनारायण श्रेष्ठलाई बमकाण्ड भएको ३ दिनपछि उहाँलाई अस्पतालको शैयाबाटै प्रहरीले गिरफ्तार ग¥यो ।
त्यतिखेर कोशी अञ्चलमा दुर्लभकुमार थापा डीआईजी पदमा कार्यरत थिए । उनलाई मुख्य अभियुक्त बनाउन घाइतेहरूमध्ये ग्रिनेडको टुक्राले लागेका एक बालकलाई यातना दिँदै जबरजस्ती भीमनारायण श्रेष्ठकै गोजीबाट कालो डल्लो खसेको आफुले देखेको भन्ने बयान दिन लगाएको थियो भने उनलाई फसाउने उद्देश्यले विस्फोटनमा परी मृत्यु भएका नगेन्द्रबहादुर पराजुलीका दाजु टंकवहाुदर पराजुलीलाई घटना घटेकै दिन अपराधीको खोजतलास गर्न भनी जोहेरी दरखास्त दिन लगाइएको थियो ।
प्रहरी निरीक्षक मोहनबहादुर पाण्डेले प्रहरीका तर्फबाट प्रतिवेदन जाहेर गरेका थिए । उक्त बमकाण्डको छानवीन गर्ने क्रममा उनलाई ३ महिना जति त जोगवनीस्थित सशस्त्र प्रहरी गणमा राखिएको थियो । उनको परिवारले ३ महिनासम्म उनलाई कहाँ लगिएको छ भन्ने जानकारीसमेत पाउन सकेनन् ।
बयान लिने तरिका भने रोचक थियो । घाइते श्रेष्ठलाई दिउँसो अस्पताल र राती राती स्टेचरमा बोकी डिआईजी कार्यालयमा पु¥याएर बयान लिइन्थ्यो । उनलाई यातना पनि खुबै दिइएको थियो । यतिसम्मकी ग्रिनेडको छिटाले लागेर च्यातिएको र अस्पतालमा सिलाइएको घाउँमा लट्ठीले घोच्दै बमकाण्डमा आपूm संलग्न रहेको साविती बयान गर्न लगाइन्थ्यो ।
उनलाई २०३० चैत ३ सोमबार आफु सो बमकाण्डको योजनाकार भएको कुरामा सही गराइएको थियो । घटनाको जाँचबुझ गर्न बनेको विशेष अदालत, पूर्वाञ्चल क्षेत्रीय अदालत र न्यायधीशद्वय बासुदेव शर्मा र झपटसिंह रावलको संयुक्त इजलाशले त्यही बयानकै आधार मानेर घटनाको मुख्य अभियुक्त बनाई मृत्युदण्ड दिनुपर्ने फैसला सुनाएका थियो । जवरजस्ती गराइएको बयान र अदालतको फैसला उनको लागि मृत्युपत्र हुन पुग्यो ।
साविती बयानमा उहाँलाई र सोही साविती वयान र प्रहरी प्रतिवेदनको आधारमा घटनाको सम्बन्धमा बनेको एक सदस्यीय विशेष अदालत (मुकाम वागमति अञ्चल) ले ०३१ साल मंसिर ११ गते शुक्रबार जाहेरी फैसला ग¥यो । सो अदालतले उहाँलाई मृत्युदण्ड दिने पैmसला गरेको थियो ।
न्याय माग्दै अदालतमा
उनले जीवन रक्षाका लागि अपिल नगरेका होइनन् । चरम यातनापछि गरिएको फैसलामा चित्त नबुझेपछि श्रेष्ठले क्षेत्रीय अदालत धनकुटामा पुनरावेदन गरेका थिए । २०३३ साल जेष्ठ १४ गते विहीबार क्षेत्रीय अदालतले पनि उनलाई मृत्युदण्डको फैसला सुनाएपछि श्रेष्ठ सर्वाेच्च अदालतको शरणमा पुगेका थिए ।
तर ०३३ फागुन ६ गते बिहीबार सर्वाेच्चले गरेको फैसलापछि न्यायका लागि घच्घच्याउने सबै ढोकाहरू सधैका लागि बन्द भयो । सर्वाेच्च अदालतले पनि ‘राजकाज (अपराध र सजाय) ऐन ०१९ को दफा २ बमोजिम मृत्युदण्ड दिने गरेको क्षेत्रीय अदातलको इन्साफ सजाय मुनासिव छ’ भन्ने फैसला गरेको थियो ।
सर्वोच्च अदालतले श्रेष्ठलाई मृत्युदण्ड दिने फैसला गरेपछि पनि उनलाई साँढे २३ महिनासम्म कहिले नख्खु र कहिले सेन्ट्रल जेलमा राखिएको थियो । उनलाई मृत्युदण्ड दिनुअघिसम्म झापा विद्रोहका कम्युनिष्ट नेताहरू केपी ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी र कांग्रेस समर्पित कप्तान यज्ञबहादुर थापा पनि जेलमै थिए ।
राधाकृष्ण मैनालीले लेखेको ‘लुटिएका दुई थुङ्गा फुल’ नामक जेल स्मरणमा २०३५ साल माघ २४ गते बिहान ४ नबज्दै प्रहरी आएर सेन्ट्रल जेलको गोलघरबाट भीमनारायण श्रेष्ठ र कप्तान यज्ञवहादुर थापालाई उनीहरूका सामानहरूसहित छुट्टाछुट्टै प्रहरी भ्यानमा कोचेर लगिएको थियो ।
प्रहरीहरू आएर श्रेष्ठ र थापालाई बाहिर लैजानुअघि आफनो जेलयात्राका सहयात्रीहरू ओली, मैनाली र अधिकारीसँग श्रेष्ठले अलिकति गम्भीर हाँसोका साथ ‘जीवन रहे भेट यति हो । बाँचेकाले क्रान्ति गर्नु, मेरो खबर यही सुनाइ दिनू’ भनेर सुनाएको उल्लेख गरिएको छ । तर राधाकृष्ण मैनाली उनी आफैं राजाको चरणमा पुगेर आफ्नो राजनीतिक जीवनलाई ध्वास्त पार्ने मध्येमा पर्छन् ।
सो बम नेपाली कांग्रेसले संचालन गरेको सशस्त्र आन्दोलनकै एउटा हिस्सा थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नारा दिएको बेला भीमनारायण र यज्ञवहादुर थापा सेन्ट्रल जेलको गोलघरमै थिए ।
त्यसबेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू कारावासमै थिए तर पछि उनीहरू छुटे पनि श्रेष्ठ र थापा छुटेनन् । त्यसबेला पार्टीको नेतृत्व तहबाट श्रेष्ठ र थापाको जीवनरक्षाका बारेमा के कस्ता प्रयासहरू भएका थिए ? यसको जवाफ कांग्रेसले मात्र दिन सक्छ ।
प्रतिकृया दिनुहोस