‘प्रोजेक्ट वान’ व्याण्डको शुरु
काठमाडौं । नेपालका चर्चित व्याण्डका सदस्यहरुल एउटा नयाँ व्याण्डको शुरु गरेका छन् ।
मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता जस्ता युवामाँझ चर्चित व्याण्डआबद्ध युवाहरुले ‘प्रोजेक्ट वान’ व्याण्डको शुरु गरेका हुन् ।
ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको व्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।
वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । व्याण्डले ‘फेरि उठ्नेछ नेपाल’लाई प्रमुख नारा बनाएको छ ।
ब्याण्डवागन बाइ पोजिटिभ भाइब्स तथा व्याण्डका संस्थापक विकेश कायस्थले आफूहरुले नेपालकै संगीतको इतिहासमा सम्भवत पहिलो पटक धेरै व्याण्डलाई एकै स्थानमा समेटेर नयाँ व्याण्ड शुरुवात गरेको दाबी गरे ।
‘हामीले अहिले प्रारम्भिक अवस्थामा व्याण्डलाई कसरी अगाडि बढाउने भनेर योजना बनाइरहेका छौं,’ संस्थापक कायस्थले भने ‘हामी व्याण्डको पहिलो कोसेलीका रुपमा यही डिसेम्बरको पहिलो हप्तातिर एउटा एल्बम बजारमा ल्याउँदैछौं । त्यसको तयारी सुरु भइसकेको छ ।’ उनले पहिलो एल्बम निकालेपछि सन् २०१८ को जनवरीबाट देशका प्रमुख सहरमा कन्सर्ट गर्ने तयारीका साथ काम शुरु भइसकेको बताए ।
व्याण्डको गायन समूहका सदस्य रविन एण्ड द रिभ्योलुसनका रविन तामाङले युवा बाहुल्यता रहेको व्याण्डमा आबद्ध हुन पाउँदा खुशी लागेको बताए । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले विभिन्न इभेन्टको व्यवस्थापन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस