आजदेखि माओवादी भागमा राप्रपाको राज
काठमाडौं । लामो समयको सत्ता सहयात्रापछि एनेकपा माओवादीले आजदेखि औपचारिक रुपमा सरकार छोड्दैछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेपछि सत्ता छाड्न माओवादी केन्द्रलाई चौतर्फी दवाव थियो । त्यसको अलावा माओवादीलाई एक्ल्याउन कांग्रेसले राप्रपालाई सरकारमा ल्याएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो । देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय बनाउने तयारी गरेका थिए ।
माओवादी केन्द्रसँग सम्बन्ध चिसिएपछि कांग्रेस नेताहरुले माओवादीसँग नैतिकता भए तत्काल सरकार छोड्नुपर्ने बताइरहेका थिए । तर, सोमबार मात्रै माओवादीले आफ्ना मन्त्रीहरु विनाविभागीय भएर पनि सरकारमा बस्ने बताएको थियो ।
तर, माओवादीले आज पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकार छाड्नुअघि गृहमन्त्री जनार्दन शर्माले दिउँसो २ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माओवादीले सरकार छाडेपछि माओवादीले सम्हाल्दै आएका मन्त्रालय राप्रपाका मन्त्रीहरुले सम्हाल्ने भएका छन् । शनिवारदेखि राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्री विनाविभागीय मन्त्रीका रुपमा छन् ।
प्रतिकृया दिनुहोस