शनिबार सकिँदैछ व्यवस्थापिका संसद्को म्याद
काठमाडौं । कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम विकसित नभए रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल शनिबार सकिँदैछ ।
यो व्यवस्थापिका संसदको म्याद माघ ७ सम्म भए पनि आइतवार समानुपातिक निर्वाचनतर्फको मनोनयनपत्र दर्ता हुँदैछ । त्यही भएर पनि संवैधानिक व्यवस्थाअनुसार संसद्को कार्यकाल शनिबार सकिँदैछ ।
संविधानसभाका रूपमा २०७० माघ ७ बाट अधिवेशन सुरु भएको संसद् २०७२ असोज ३ मा संविधान जारीपछि व्यवस्थापिकाका रूपमा रुपान्तरित भएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार ४ वर्षे कार्यकाल माघ ७ सम्म कायम भए पनि संविधानको संज्ञmमणकालीन व्यवस्थाअनुसार शनिबारदेखि कार्यकाल समाप्त हुन लागेको हो ।
शनिवार शीर्ष नेतृत्वहरुको सम्बोधनपछि औपचारिक रुपमा व्यवस्थापिका संसद्को म्याद सकिँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनमा एक कार्यक्रमको आयोजना गरी सांसद्हरुको बिदाई पनि गरिँदैछ ।
यो अवस्थामा रहन्छ संसद्
संक्रमणकालीन व्यवस्थाको धारा २९६ (१)को प्रतिबन्धात्मक वाक्यांशले प्रतिनिधिसभाको मनोनयनपत्र दाखिला गरेको अघिल्लो दिन नै कार्यकाल समाप्त हुने व्यवस्था छ ।
सो प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, ‘तर, त्यस्तो कार्यकाल पूरा हुनुअगावै यस संविधानबमोजिम प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहनेछ ।’
तर, सरकारले २९ असोजलाई निर्धारण गरेको समानुपातिक उम्मेदवार मनोनयनको समय सारेको अवस्थामा भने संसद् स्वतः कायम रहनेछ । १० मंसिरमा तोकिएको पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सार्ने प्रयास भइरहेको छ ।
प्रतिकृया दिनुहोस