गोरखामा भूकम्प प्रतिरोधी २ हजार ६ सय ६४ घर निमार्ण
गोरखा । सरकारले दिएको अनुदान लिएर गोरखामा २ हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् ।
यस्तै, नौ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा २ हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न दुई हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि एक लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् ।
यस्तै, दश हजार जनालाई दोस्रो किस्ता रकम उपलब्ध गराउने तयारी भएको छ भने दुई हजार ३३८ जनालाई तेस्रो किस्ता दिन सिफारिश गरिसकिएको छ । गैरसरकारी संस्थाले पनि गोरखाका जौवारी, पन्द्रुङलगायत गाउँमा घर बनाउन अनुदान दिएका छन् ।
पुनःनिर्माण प्राधिकरणले आज गोरखामा आयोजना गरेको गुनासो व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै पौडेलले ६ हजार ४१० जना डकर्मी उत्पादन गर्ने लक्ष्य लिइएकामा अहिलेसम्म ५ हजार १०३ जना दक्ष डकर्मी उत्पादन भएको जानकारी दिए।
५० दिने तालीम दिएर ४ हजार ५५१ जना कामदार उत्पादन गर्ने भनिए पनि अहिलेसम्म २ हजार ९४ जनालाई मात्रै तालीम दिइएको छ । साथै ११ वटा स्थानीय तहमा ३९५ वटा नमूना भूकम्प प्रतिरोधी घर बनाउने भनिएकामा अहिलेसम्म जम्मा ९४ वटा मात्रै घर बनेका छन् ।
गोरखा जिल्लाभर ११ हजार ४२४ जनाले आफ्नो घर भत्किए पनि अनुदान नपाएको गुनासो गरेका थिए । उनीहरुको घर भत्किएको हो वा होइन यकिन गर्न इञ्जिनियरको टोली गाउँमा परिचालन गरिएको छ । ७ हजार ४२४ जनाको घर पुनः सर्वेक्षण गरिसकिएको प्राधिकरणले जनाएको छ ।
प्रतिकृया दिनुहोस