प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर
मस्कट, ओमन । प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ ।
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अनर अर्पण गरेको थियो ।
प्रधानमन्त्री देउवाको ओमनको तीनदिने कार्यक्रमलाई त्यहाँको सरकारले औपचारिकता दिएको छ ।
देउवालाई सोमबार साँझ मस्कट विमानस्थलमा ओमनका उपप्रधानमन्त्री सइद फहद महुद अल – सइद, ओमन सरकारका पाँच मन्त्री, नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुलीलगायत उच्च अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवाको सम्मानार्थ ओमन सरकारले सोमबारै रात्रिभोजको आयोजना गरेको छ । मंगलबार र बुधबार ओमनमा उनको उच्चस्तरीय भेटवार्ता हुने यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्री देउवाले मंगलबार खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस