आन्तरिक कलहले सन्तोषजनक नतिजा आएन : मन्त्री यादव
काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले असोज २ मा प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीले पाएको मत सन्तोषजनक नभएको गुनासो पोखेका छन् ।
मन्त्री यादवले पार्टीले ४० स्थानीय तह जिते पनि त्यो सन्तोषजनक नभएको बताए । उनले भने, ‘अहिले हामीले ४० सिट जितेका छौं, तर जितको सिट संख्या अझै धेरै बढ्न सक्दथ्यो, पार्टीभित्रको आन्तरिक कारण र व्यवस्थापकीय कमजोरीका कारण हामीले भनेजस्तो परिणाम ल्याउन सकेनौं ।’
उनले आफूहरुले आशा गरेजस्तो परिणाम नआएपनि २ नम्बर प्रदेशमा पहिलो भएकोले सन्तोष गर्नुपर्ने ठाउँ रहेको सुनाए । उनले मधेशी जनताले राष्ट्रियता र लोकतन्त्रको पक्षमा आफ्नो मत जाहेर गरेको भन्दै आफूहरु यो नजिताबाट त्यति धेरै असन्तोष भने नरहेको जिकिर गरे । उनले थपे, ‘आदरणीय पार्टी सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले लोकतन्त्र र संविधान कार्यान्वयनको लागि अहम भूमिका निर्वाह गर्नुभएको छ, त्यसेको परिणाम हो प्रदेश नं. २ को निर्वाचनको मतपरिणाम ।’
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पार्टी सभापति शेरबहादुर देउवालाई चुनावपछि बन्ने सरकारको प्रधानमन्त्रीमा उम्मेदवार घोषणा गरी मतदातासमक्ष मत माग्न उद्घोाष गरेका छन् ।
उनले भने, ‘हामी अबको चुनावमा आम मतदाताहरुसमक्ष पार्टी सभापति शेरबहादुर देउवालाई नै अघि सारेर मत माग्न जान्छौं, अब फेरि पनि उहाँ नै प्रधानमन्त्रीको उम्मेद्धवार हो, पार्टीभित्र यसबारे एकमत छ ।’
मन्त्री यादवले ‘पार्टी सभापतिलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेर मतदातासमक्ष जानुपर्छ, राष्ट्रिय स्वाधीनता, समृद्धि, लोकतान्त्रिक आचरण र सुशासनको विषयमा पार्टीले अगाडि सारेका मान्यतालाई अनुमोदन गराउनुपर्छ ।’
मन्त्री यादवले वर्तमान सरकार प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुटिसकेको बताउँदै भने, ‘सरकार आउने निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको छ, समयमै निर्वाचन सम्पन्न हुन्छ ।’
प्रतिकृया दिनुहोस